
फाइल फोटो ।
कक्षा १२ को वार्षिक परीक्षा भोलि (आइतबार) देखि सुरु हुँदैछ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार जेठ २ गतेसम्म चल्ने परीक्षामा ५ लाख ११ हजार ५२५ विद्यार्थी सहभागी हुनेछन्।
परीक्षा सञ्चालनका लागि देशभर १ हजार ५ सय ९१ परीक्षा केन्द्र तोकिएको छ र ४८ हजार २०९ जना जनशक्ति खटिनेछ। नियमिततर्फ ३ लाख ९५ हजार ९०८ र आंशिकतर्फ १ लाख १५ हजार ६१७ विद्यार्थी सहभागी हुनेछन्।
प्रदेशहरूमा सबैभन्दा धेरै बागमतीबाट १ लाख ३५ हजार २४० र सबैभन्दा कम कर्णालीबाट ३८ हजार ८८८ जना परीक्षार्थी सहभागी हुनेछन्। जिल्लातर्फ काठमाडौँबाट सबैभन्दा धेरै ६८ हजार १३३ र मनाङबाट सबैभन्दा कम ४५ जना परीक्षार्थी छन्। यस्तै जापानको एभरेस्ट स्कुलबाट ३८ विद्यार्थीले परीक्षा दिँदैछन्।
परीक्षाको शान्तिपूर्ण सञ्चालनका लागि जिल्ला समन्वय समिति गठन गरिएको छ। बोर्डले परीक्षा केन्द्रमा मोबाइल, स्मार्ट घडी र अन्य विद्युतीय उपकरण लैजान निषेध गरेको छ। उल्लंघन गरेमा परीक्षा रद्द हुने चेतावनीसमेत दिइएको छ।