
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले राजनीतिकर्मी प्रत्यक्ष रुपमा जनताप्रति उत्तरदायी हुनुपर्ने बताएका छन् ।
नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाको स्वागतमा मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा उनले राजनीतिकर्मीले जनताप्रति थुप्रै वाचा गरेकाले जनताले सम्झने गरी काम गर्नुपर्ने बताए । ‘हामी राजनीतिकर्मी जनताप्रति थुप्रै वाचा गरेर आएका हुन्छौँ, थुप्रै लक्ष्य लिएका हुन्छौँ, लक्ष्य प्राप्तिका लागि आ-आफ्नो क्षेत्रबाट लाग्नुपर्छ, राजनीतिकर्मी जनताप्रति प्रत्यक्ष उत्तरदायी भएर काम गर्नुपर्छ,’ उनले भने ।
सधैंका लागि आफ्नो कार्यकाल नभएकाले जनताले प्रत्यक्ष अनुभूति हुने खालको काम गर्नुपर्ने उनको भनाइ थियो । मन्त्री खड्काले सीमित स्रोत र साधनका बीच उत्कृष्ट काम गर्नुपर्ने दायित्व आफूहरुमा रहेकाले यसमा राज्यमन्त्रीको साथ र सहयोग हुने विश्वास व्यक्त गरे ।
उनले तीनै तहका सरकारसँग समन्वय गरेर दायित्वलाई जिम्मेवारपूर्वक ढंगले निर्वाह गर्नुपर्ने उल्लेख गरे । मन्त्री खड्काले व्यवहारिक ज्ञान, अनुशासित, मर्यादित, जिम्मेवार व्यक्तित्वका रुपमा आफूले राज्यमन्त्रीलाई लिएको बताउँदै आफूले सिकेको, देखेको, भोगेका कुरा र अनुभवलाई राष्ट्र निर्वाहमा लगाउनुपर्ने बताए ।
उनले सहकार्य, पारदर्शिता र जवाफदेहिताका आधारमा मन्त्रालयको कार्यसम्पादनलाई परिणाममुखी बनाउने उल्लेख गरे । एक-आपसमा मानमर्दन, संस्कार र संस्कृति जोगाएर अगाडि बढेमात्र सफल भइने उनको भनाइ थियो ।
नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आफू देशकै लागि काम गर्ने व्यक्ति भएकाले कर्मचारीको साथ लिएर देश र मन्त्रीलाई सफल बनाउन लाग्ने प्रतिबद्धता जनाए । देश र जनताको पक्षमा आफूले काम गर्ने उनको भनाइ थियो ।
मन्त्रालयका ऊर्जासचिव सुरेश आचार्य र जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडीले मुलुकलाई समृद्ध हासिल गर्ने क्षेत्र ऊर्जा र सिँचाइ भएकाले यसको विकासमा लाग्नुपर्ने बताइन् ।