काठमाडौं, वैशाख २६ :

प्रतिनिधिसभाका सदस्य सरिता भुसालले पूर्व-पश्चिम राजमार्गअन्तर्गत पर्ने दाउन्ने सडकखण्डको वैकल्पिक मार्गका रुपमा रहेको भुताहा-आमबास-दुम्कीबास सडक बजेट अभावका कारण अधुरै रहेकाले बजेटको व्यवस्था गर्न सरकारसँग माग गरेकी छन् ।

प्रतिनिधिसभाको आज (शुक्रबार) को बैठकको शून्य समयमा उनले भनिन्, ‘गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागलाई जोड्ने यो सडक निर्माण हुँदा ग्रामीण भेकका नागरिकलाई सडकको पहुँचमा पुर्‍याउन सक्छ, यसलाई पर्यटन मार्गका रुपमा पनि लिन सकिन्छ ।’ भुताहा, आमबास र दुम्कीबास सडकका लागि सरकारले निरन्तरता बजेट उपलब्ध नगराउँदा निर्माण कार्य अधुरै रहन गएकाले आगामी आर्थिक वर्ष बजेट व्यवस्था गर्न माग गरिन् ।
    
सांसद डा. स्वर्णिम वाग्लेले भारत र चीनसँग जोडिएको नेपालको सिमानाकामा देखिएका समस्या समाधान गर्न सरकारसँग माग गरे ।
    
सांसद सीताकुमारी रानाले संयुक्त राष्ट्रसंघीय बालअधिकार महासन्धि अनुमोदन गरिए पनि त्यसको कार्यान्वयन हुन नसकेको बताइन् । सिंगो देशलाई बालमैत्री बनाउन तथा अन्तर्राष्ट्रिय समुदायसँग नेपालले गरेको प्रतिबद्धता पूरा गर्न राज्यले बालबालिकामा गरेको लगानी न्यून भएको उल्लेख गर्दै उनले अबको बजेट बालबालिकामैत्री हुनुपर्ने बताइन् ।