
बंगलादेशको अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगमाथि प्रतिबन्ध लगाएको छ । मोहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारले प्रचारप्रसारलगायत अवामी लिगका सबै गतिविधिमाथि प्रतिबन्ध लगाएको छ।
अवामी लिगका नेता कार्यकर्ताहरूलाई सामाजिक सञ्जाललगायतका अनलाइन प्लाटफर्ममा विभिन्न प्रचारप्रसार गर्न प्रतिबन्ध लगाइएको छ । सल्लाहकार परिषद्को विशेष बैठकले आतंकवादविरोधी कानुनअन्तर्गत उक्त निर्णय लिइएको हो ।
सरकारले देशको सुरक्षा, सम्प्रभुता, जुलाई आन्दोलनका नेता कार्यकर्ताको सुरक्षा सुनिश्चित गर्नका लागि उक्त निर्णय लिइएको दाबी गरेको छ । केही दिनदेखि बंगलादेशमा अवामी लिगलाई 'आतंकवादी संगठन' का रूपमा प्रतिबन्ध लगाउनुपर्ने भन्दै प्रदर्शन भइरहेको थियो । यसैबीच, अवामी लिगले सरकारको निर्णय अलोकतान्त्रिक र दमनकारी भएको बताएको छ ।