काठमाडौं, वैशाख २८ :

सैनिक कल्याणकारी कोषबाट २ करोड २१ लाख रुपैयाँभन्दा बढी रकम अपचलनको आरोपमा पक्राउ परेका नेपाली सेनाका पूर्वजमदार आत्मराम थापा पुर्पक्षका लागि कारागार चलान भएका छन्।

काठमाडौं जिल्ला अदालतले आइतबार थापालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। सैनिक कल्याणकारी निर्देशनालयअन्तर्गतको आवास तथा बीमा शाखाबाट २०७३ देखि २०७५ को बीचमा उक्त रकम अपचलन भएको थियो।

अनुसन्धानका क्रममा थापाले तत्कालीन सहायक रथी रोशन खड्का, सेनानी बोधराज कार्की र प्रमुख सेनानी लक्ष्मण अधिकारीको संलग्नता रहेको बयान दिएका छन्। अधिकारी फरार छन् भने खड्का र कार्कीमाथि आन्तरिक छानबिन भइरहेको सेनाले जनाएको छ। थापाविरुद्ध आपराधिक विश्वासघातको अभियोगमा मुद्दा दायर गरिएको छ।