काठमाडौं, वैशाख २९ :

तीनकुनेमा चैत १५ गते भएको राजावादी हिंसात्मक आन्दोलनमा संलग्न भएको आरोपमा पक्राउ परेका शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेत (अनिल बाबा) को अनुसन्धानका लागि दुई दिन थप गरिएको छ।

आइतबार सुकेधाराबाट पक्राउ परेका बस्नेतमाथि आपराधिक उपद्रवसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। अदालतबाट म्याद थप गराउँदै अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ।

मोरङको विराटनगर महानगरपालिका–३ निवासी ४७ वर्षीय बस्नेत तीनकुने क्षेत्रको आगजनी र तोडफोड घटनामा संलग्न रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ। अनुसन्धानको क्रममा अन्य सम्भावित कसुर फेला परे थप आरोपसमेत लगाइने प्रहरीले स्पष्ट पारेको छ। प्रहरीले बस्नेतसँगै घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान र खोजी कार्य पनि तीव्र बनाएको जनाएको छ।