काठमाडौं, वैशाख २९ :

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा बाढीले पुऱ्याएको क्षतिको पुनर्निर्माणमा सरकार लाग्ने बताएका छन् ।

मन्त्री खड्काले आज (सोमबार) मेलम्ची र हेलम्बु क्षेत्रको स्थलगत अनुगमन गर्दै बाढी प्रभावित क्षेत्रको पुननिर्माणमा सरकारले काम गर्ने बताए ।

उनले मेलम्ची र हेलम्बु क्षेत्रमा सिँचाइ व्यवस्थापनका लागि विशेष योजना अघि बढाउने घोषणा गरे । ‘बाढीपछिको हेलम्बु, मेलम्चीको पुनर्निर्माणका लागि म प्रतिबद्ध छु । यो ऐतिहासिक ठाउँको विकासमा सबै मिलेर अगाडि बढौं,’ उनले भने ।

ऊर्जामन्त्री खड्काले पहाडी क्षेत्रका उर्वर भूमिको सदुपयोग गर्न सिँचाइ व्यवस्थापनलाई सरकारले प्राथमिकतामा राखेको बताए । ‘सिन्धुपालचोक इन्द्रावती गाउँपालिका-भीमटारमा रहेको २२ वटा टारमा इन्द्रावती नदीको पानी ल्याएर सिँचाइका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न सुरु गरिनेछ,’ उनले भने ।

पहाडी क्षेत्रमा कृषिको उत्पादनलाई बढावा दिन सिँचाइ व्यवस्थापन एकदमै महत्त्वपूर्ण भएको उनको भनाइ थियो । ‘यस क्षेत्रको सिँचाइका हाम्रो मन्त्रालय सक्रिय छ र म व्यक्तिगत रूपमा यसमा सहयोग गर्न तयार छु,’ खड्काले भने ।

२०७८ असार १ गतेको बाढीले मेलम्ची र हेलम्बु क्षेत्रमा ठूलो धनजनको क्षति पुऱ्याएको थियो । यद्यपि हालसम्म पनि पुनर्निर्माण हुन नसकेपछि नेपाली कांग्रेसका नेता एवं उक्त क्षेत्रका सांसद मोहन बस्नेतको सक्रियतामा ऊर्जामन्त्री खड्का, राज्यमन्त्री खमबहादुर गर्बुजा, सिँचाइ सचिव सरीता दवाडी, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सञ्जीव बरालगायतको टोलीले स्थलगत निरीक्षण गरेको थियो ।

निरीक्षणका क्रममा मन्त्री खड्कालाई त्यस क्षेत्रका बासिन्दाले बाढीपहिरोले पुगेको क्षतिको पुनर्निर्माण गर्न माग गर्दै ज्ञापनपत्रसमेत बुझाएका छन् । उनीहरुले बाढीले पुऱ्याएको क्षतिको पुनर्निर्माणमा स्थानीय तहको पर्याप्त स्रोत-साधन नहुँदा जनता मारमा परेको भन्दै चाँडो पुनर्निर्माण गरिदिन आग्रह गरेका हुन् ।

सोही क्रममा मन्त्री खड्काले बाढी र पहिरोबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि पहल गरिने आश्वासन दिए । ‘क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा सरकारले प्राथमिकता दिनेछ । यसका लागि सम्बन्धित निकायसँग समन्वय गरेर चाँडो काम अघि बढाउनेछौं,’ उनले भने ।