काठमाण्डौं, जेठ १ :

युक्रेन र रुसबीच आज इस्तांबुलमा हुने शान्ति वार्तामा सहभागी हुने क्रेमलिनको सुचीमा रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनको नाम समावेश गरिएको छैन ।

क्रेमलिनले विज्ञप्ति जारी गर्दै रुसको प्रतिनिधि मण्डलको नेतृत्व पुटिनका सहयोगी भ्लादिमिर मेदेन्स्किले गर्ने जनाएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुटिन वार्तामा उपस्थित भएमा आफुपनि उपस्थित हुने बताएका थिए ।  

शान्ति वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि उपस्थित हुने छैनन् । तर राष्ट्रपति ट्रम्पले  पुटिन उपस्थित भएमा आफु पनि वार्तामा उपस्थित हुने यसअघि  भनेका थिए ।

जेलेंस्की आज टर्कीको राजधानी अन्कारामा राष्ट्रपति रजब तैयिप एर्दोगानसँग भेट गर्दैछन् ।

पुटिन र जेलेंस्कीले डिसेम्बर २०१९ पछि व्यक्तिगत रूपमा भेट गरेका छैनन्। रूस र युक्रेनले मार्च २०२२ मा इस्तान्बुलमा प्रत्यक्ष वार्ताहरू गरेका थिए ।

आइतबार पुटिनले रुस र युक्रेनबीच टर्कीको सबैभन्दा ठूलो सहरमा बिना शर्त सिधा वार्ता गर्न आह्वान गरेका थिए । त्यसपछि जेलेन्स्कीले आफू व्यक्तिगत रूपमा जाने घोषणा गरे र रुसी राष्ट्रपतिले पनि भ्रमण गर्ने अपेक्षा गरेका थिए ।

शनिबार कीभमा युरोपेली नेताहरूको बैठकपछि पश्चिमा शक्तिहरूले ३० दिनको युद्धविरामको आह्वान गरेपछि पुटिनले इस्तानबुलमा प्रत्यक्ष वार्ताको सुझाव दिएका थिए।

यसैबीच अमेरिकि राष्ट्रपति ट्रम्पले आइतबार युक्रेनलाई प्रस्ताव स्वीकार गर्न आह्वान गरेपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर  जेलेन्स्कीले आफू आफैं त्यहाँ जाने बताएका थिए ।

वार्ताका लागि अमेरिकाले उच्चस्तरीय प्रतिनिधिमण्डल पठाउने अपेक्षा गरिएको छ ।