काठमाडौं, जेठ ४ :

सगरमाथा संवादमा सहभागी हुन आएका विदेशी पाहुनाहरूले माउन्टेन फ्लाइटमार्फत सगरमाथा लगायतका हिमश्रृंखलाको अवलोकन गरेका छन् ।

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीको नेतृत्वमा आज बिहान  गएका २४ जना विदेशी पाहुनासहितको टोलीले सगरमाथा, ल्होत्से, चोयु, शिसापाङ्मा, अमादब्लम, गौरीशंकर, मकालु, लाङटाङ लगायतका हिमाल नियालेका हुन् ।

नेपालमा जलवायु परिवर्तनका असरहरू प्रत्यक्ष अवलोकन गराउने उद्देश्यले गरिएको उक्त फ्लाइट करिब एक घण्टा लामो थियो ।

परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्डको समन्वयमा आयोजित यो अवलोकन भ्रमण साहसिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जानकारी दिए ।

‘जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य’ विषयक अन्तर्राष्ट्रिय सगरमाथा संवादमा स्वदेशी तथा विदेशी गरी ३५० भन्दा बढी विशिष्ट व्यक्तिहरू सहभागी छन् ।

वनमन्त्री शाहीले नेपालका हिमालहरूमा जलवायु परिवर्तनको असर प्रष्ट देखिन थालेको बताए । उनले भने,‘पहिले जहाँतहीँ सेता हिमाल देखिन्थे, तर अहिले ती ठाउँमा काला पहाडहरू देखिन थालेका छन्।’