
भारतीय हक्की संघले नेपाल हक्की संघलाई सहयोग स्वरुप खेल सामग्री हस्तान्तरण गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) की कार्यकारी समितिकी सदस्यसमेत रहेकी नेपाल हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठले समान ५/५ सय थान हक्की स्टिक र बल तथा प्रशिक्षण सामग्री बिहीबार सहयोग स्वरुप प्राप्त भएको जनाएकी छन् ।
एसियाली हक्की महासंघका उपाध्यक्ष एवं भारतीय हक्की संघका महासचिव भोलानाथ सिंह, भारतीय हक्की संघका कोषाध्यक्ष सेकर मनोहरण र भारतीय हक्की संघका प्रबन्ध निर्देशक रविकान्त श्रीवास्तवसहित बिहीबार नेपाल आएको टोलीले सामग्री हस्तान्तरण गर्यो ।
टोलीले बिहीबारै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, राखेपका उपाध्यक्ष ध्रुव आचार्य र राखेपका सदस्य-सचिव टंकलाल घिसिङसंग पनि छुट्टाछुट्टै भेट गरेको छ ।
भेटका अवसरमा नेपालमा हक्कीको अवस्था, नेपालमा हक्कीको विकासका लागि मित्रराष्ट्र भारतको सहयोग, प्रशिक्षणलगायत विषयमा छलफल भएको थियो ।
सञ्चारमन्त्री गुरुङले आगामी दिनमा पनि नेपालमा हक्कीको विकासका लागि भारतीय हक्की संघको सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गर्दै सहयोगका लागि धन्यवाद दिए ।
भारतीय पदाधिकारीले नेपाली खेलाडीको प्रशिक्षणका साथै भारतीय हक्की संघले नेपालको हक्कीलाई उकास्न सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । त्यस अवसरमा हक्की संघका अध्यक्ष अनिलप्रसाद शर्मा, हक्कीका मुख्य प्रशिक्षक रञ्जन थापालगायतको उपस्थिति थियो ।