भक्तपुर, जेठ १० :

भक्तपुरमा सुरु भएको कुमार ग्वाछा स्मृति खुला फिडे रेपिड रेटिङ (२००० मुनि) बुद्धिचाल प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूमध्ये आठ वर्षका बालकदेखि ६८ वर्षका नागरिक प्रतिस्पर्धामा उत्रिएका छन् ।

भक्तपुर युवा टिम गोल्मढीको आयोजनामा सुरु भएको प्रतियोगिता भारत, इंग्ल्यान्डसमेत र नेपालको २५ जिल्लाबाट पाँच महिलासहित १२७ जनाको सहभागिता छ । प्रतियोगितामा भारतबाट चार र इंग्ल्यान्डबाट एक खेलाडीको सहभागिता छ ।

नेपालको पहिलो अन्तर्राष्ट्रिय आरविटर ज्ञानेन्द्र खाइजूले प्रतियोगितामा शुक्रबार पाँच राउन्ड सम्पन्न भएको र शनिबार चार राउन्ड खेलिने जनाए ।

प्रतियोगिताको उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीको सचिव एवं संघीय सांसद प्रेम सुवालले बुद्धिचाल प्रतियोगिता बुद्धि अर्थात दिमाग लगाएर खेल्ने खेल भएको बताउँदै अन्तर्राष्ट्रिय क्षेत्रमा हुने खेलमा नेपालको अब्बल प्रतिस्पर्धा हुने गरी खेलाडी उत्पादन गर्नुपर्ने बताए ।