
हार्वर्ड विश्वविद्यालयका अन्तर्राष्ट्रिय विद्यार्थीहरूले ट्रम्प प्रशासनले विदेशी विद्यार्थीको भर्नामा प्रतिबन्ध लगाउने कदमपछि आफूहरू डर र पीडाको अनुभव गरिरहेको बताएका छन्।
विश्वभरका विद्यार्थीहरूले भिसा खारेज हुने,अनुसन्धान निलम्बित हुने र देश छाडेमा पुन अमेरिकामा प्रवेश गर्न रोक लाग्न सक्ने सम्भावनासँग जुधिरहनु परेको बताएका छन्।
हुन त अमेरिकी संघीय अदालतले ट्रम्प प्रशासनको यो प्रतिबन्धलाई अस्थायी रूपमा रोक लगाएको छ। राष्ट्रकै सबैभन्दा पुरानो र धनी विश्वविद्यालयले संघीय अदालतमा मुद्दा दायर गरेपछि यस्तो आदेश आएको हो।
हार्वर्डले आफ्नो विद्यार्थी तथा आगन्तुक आदानप्रदान कार्यक्रमको प्रमाणिकरण खारेज गरिनुलाई सरकारले हार्वर्डसंग गरेका मागहरू अस्वीकार गरेबापत स्पष्ट प्रतिशोध भएको तर्क गरेको थियो।
पाकिस्तानको लाहोरबाट आएका हार्वर्ड विद्यार्थी संघका सह अध्यक्ष अब्दुल्ला शाहिद सियाल भन्छन्, हजारौँ अन्तर्राष्ट्रिय विद्यार्थीहरू अझै अनिश्चिततामा छन् । उनीहरू अत्यन्त डराएका छन् किनभने उनीहरूले आफ्नो हालको कानुनी स्थिति नै थाहा पाएका छैनन् । वकिलहरू समेत लाग्न हिचकिचाउँछन् । सियाल परीक्षापछि अहिले विदेश भ्रमणमा छन्। सियालले भने उनलाई आफू अमेरिका फर्कन पाउने वा त्यहाँ बस्न पाउने नपाउनेबारे कुनै निश्चितता छैन।उनी भन्छन् हालको अवस्थाबारे भन्नुपर्दा, मलाई थाहा छैन म अर्को सेमेस्टर पढ्न पाउनेछु कि पाउनेछैन ।
हार्वर्ड विश्वविद्यालयका झण्डै २७ प्रतिशत विद्यार्थी अन्तर्राष्ट्रिय हुन् । जसमा ६ हजार ७ सय ९३ जना स्नातक र स्नातकोत्तर विद्यार्थीहरू छन् । उनीहरु विश्वका प्रायः सबै मुलुकबाट आएका छन्।
अन्तिम परीक्षा सकिएको केही दिनमै र दीक्षान्त समारोह हुनु एक हप्ता बाँकी छँदा यो अवस्था आएको बेलामा विश्वविद्यालय र डीनहरूले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई सहयोग गर्ने प्रयास गरिरहेका छन्।
विद्यार्थी संघ सह अध्यक्षको हैसियतमा सियालले भने, उनी विश्वविद्यालयलाई उनीहरूले अन्य कलेजमा ट्रान्सफर गर्न चाहने अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई सहयोग गर्न र उनीहरूको आर्थिक सहायता प्याकेज पनि सँगै ट्रान्सफर गराउन उत्प्रेरित गरिरहेका छन्। तर उनले भने, धेरै विश्वविद्यालयहरूमा यो शैक्षिक सत्रका लागि ट्रान्सफरको म्याद पहिले नै सकिएको छ।
न्यूजिल्यान्डका १८ वर्षीय जारेडले हालसालै हार्वर्डमा भर्ना पाउने स्वीकृति पाएका थिए र यो पतझर सत्रदेखि स्नातक अध्ययन सुरु गर्ने तयारी गर्दै थिए। जब उनी भिसाको लागि आवेदन दिइरहेका थिए र बोस्टन सर्ने तयारी गर्दै थिए उनले ट्रम्प प्रशासनको घोषणा थाहा पाए । निर्णय थाहा पाएपछि त्यो क्षण मुटु भाँचिने जस्तै अनुभव भयो उनी भन्छन् ।
यहूदी विद्यार्थीहरू गोटी बनाइएका छन्,एक इजरायली विद्यार्थीको भनाइ
हार्वर्ड विश्वविद्यालय र ट्रम्प प्रशासनबीच महिनौंदेखि टकराव चलिरहेको छ । किनभने प्रशासनले विश्वविद्यालयको कार्यक्रम, नीति, कर्मचारी नियुक्ति र भर्ना प्रणालीमा परिवर्तन गर्दै “यहूदीविरोध” र “जातीय विभेदजन्य अभ्यास” हटाउन माग गर्दै आएको छ। अन्य धेरै कलेज र विश्वविद्यालयहरूजस्तै हार्वर्डले पनि गत वर्ष इजरायल-हमास युद्ध सुरु भएपछि भएको प्रो प्यालेस्टिनी प्रदर्शन र क्याम्पसमा पाल टाँगेर गरिएको विरोधको व्यवस्थापनका कारण कडा आलोचना भोग्नुपरेको थियो।
हार्वर्डले आफूले विगत शैक्षिक वर्षमा क्याम्पसमा यहूदीविरोधी गतिविधिहरू अनुभव गरेको स्वीकार गरिसकेको छ र त्यसलाई सम्बोधन गर्न ठोस कदम चाल्न थालेको जनाएको छ।
हार्वर्डमा अध्ययनरत एक इजरायली पोस्टडक्तोरल विद्यार्थीले भनिन् “यहूदी विद्यार्थीहरू अहिले ट्रम्प प्रशासनद्वारा गोटी झैं प्रयोग गरिएका छन्।” ट्रम्प प्रशासनले विश्वविद्यालयमाथि यहूदी विद्यार्थीहरूका लागि “असुरक्षित र शत्रुतापूर्ण वातावरण” बनाएको आरोप लगाएको छ।
उक्त इजरायली विद्यार्थी जसले पुनः अमेरिका फर्किन नपाइने डरले आफ्नो नाम सार्वजनिक गर्न चाहिनन् र भन्छिन्, “मलाई लाग्छ ट्रम्प प्रशासनले हार्वर्डलाई प्रयोग गरेर शैक्षिक क्षेत्रसँग एउटा यस्तो लडाइँ लडिरहेको छ जुन हार्वर्डभन्दा धेरै ठूलो छ।”
युवा अनुसन्धानकर्ताहरू भन्छन्, अब अमेरिका छोड्छौं
अष्ट्रेलियाका एक स्नातकोत्तर विद्यार्थीले, भविष्यमा अमेरिकी भिसा नपाउने डरले आफ्नो नाम गोप्य राख्दै भने: “हामी सबैलाई विश्वविद्यालय क्याम्पसमा भएको आन्दोलनको कारण सजाय दिइँदैछ जस्तो लाग्छ, जुन अत्यन्तै अनौठो कुरा हो । खासगरी हामी अनुसन्धानकर्ताहरू र पीएचडी विद्यार्थीहरू प्रायः यस्ता गतिविधिमा संलग्न हुने समय वा चासो समेत राख्दैनौं।”
“एक स्नातकोत्तर विद्यार्थीको रूपमा म हप्तामा ८० देखि १ सय घण्टा मेरो अनुसन्धान कार्यमै व्यस्त हुन्छु,” उनले भने। साथै उनले थपे कि ट्रम्प प्रशासन र हार्वर्डबीचको यो विवादले गर्दा अब धेरै अनुसन्धानकर्ताहरूले अमेरिका छोड्ने सम्भावना देखिन्छ।
अन्य स्नातकोत्तर विद्यार्थीहरूले पनि आफ्नो अनुसन्धान, भविष्यको करियर र आफन्तहरूको सुरक्षाको विषयमा डर र अन्योल व्यक्त गरेका छन्।
हार्वर्ड क्याम्पस अब पहिला जस्तो हुँदैन
स्वीडेनका लियो जर्डेन जो अर्को हप्ता स्नातक हुँदैछन् उनी भन्छन् हार्वर्डमा रहेका उनका केही साथीहरूले “विशेष गरी विदेशका अन्य संस्थाहरूमा सर्न नयाँ योजना बनाउन थालेका छन्।” उनी थप्छन् “म अर्को हप्ता हुने स्नातक समारोहलाई लिएर उत्साहित थिएँ, तर अब म यो ठाउँ छोड्न सक्छु र अर्को सेमेस्टरमा क्याम्पस पहिले जस्तो देखिन्न, किनभने यी अन्तर्राष्ट्रिय विद्यार्थीहरू र अनुसन्धानकर्ताहरू बिना हार्वर्ड क्याम्पस पहिले जस्तो हुने छैन,”।