काठमाडौं, जेठ ११ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता प्रमाणित भए जेल जानुपर्ने स्पष्ट पारेको छ ।

आइतबार बसेको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कार्यबाहक प्रवक्ता मनीष झाले गृहमन्त्रीको संलग्नता प्रमाणित भए राजनीति छाड्ने मात्र हैन, कानुनी दायरामा ल्याउनुपर्ने बताएका हुन् ।

‘प्रमाणित भए राजनीति छाड्ने होइन, जेल जानुपर्छ,’ प्रवक्ता झाले भने, ‘त्यसका लागि राजनीति नछाडि हुँदैन । प्रमाणित भएपछि जेल त जानैपर्छ ।’

गृहमन्त्री लेखकले शनिबार आफू दोषी ठहरिए राजनीतिबाट बिदा हुने बताएका थिए । तर, रास्वपाले उक्त अभिव्यक्तिलाई अस्वीकार गर्दै दोष प्रमाणित भए कडा कानुनी कारबाहीको माग गरेको हो ।

प्रवक्ता झाले सरकारी कर्मचारीकै संलग्नतामा बदमासी भएको भन्दै गृहमन्त्रीको भूमिका नकार्न नसकिने बताए ।