काठमाडौं, जेठ १२ :

व्यवसाय र मानवअधिकारको विषयलाई सँगसँगै लैजानुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको आयोजना तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) र स्विस सरकार विकास सहयोग (एसडीसी) को सहयोगमा व्यवसायमा मानवअधिकार सम्मानसम्बन्धी काठमाडौंमा आयोजित अन्तर्क्रिया कार्यक्रममा सरोकारवालाहरुले यसमा जोड दिएका हुन् ।

कार्यक्रमका वक्ता तथा सहभागीहरुले राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा सबैको समन्वयात्मक भूमिका आवश्यक रहनेसमेत बताए । नेपाल सरकारले ‘व्यवसाय र मानवअधिकारसम्बन्धी राष्ट्रिय कार्ययोजना’ तर्जुमा गरी गत वर्षदेखि लागु गरेको छ ।

यस कार्ययोजनामा श्रमिकको अधिकार, महिला तथा बालबालिकाको अधिकार,उपभोक्ताको अधिकार, समानता र भेदभावविरुद्धको अधिकारलगायत विषयलाई  समावेश गरिएको छ ।

कार्यक्रमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा.कृष्णहरि पुष्करले यो कुनै नयाँ नीति वा कानुन नभई मानवअधिकार संरक्षणसम्बन्धी बनेका अन्य नीति तथा कानुन पालना गराउन बनेको कार्ययोजना भएको बताए ।

उनले मानवअधिकार संरक्षण राज्यको मूल दायित्व भए पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनका हिसाबले अन्य सरोकारवालाहरुको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण रहने बताए । ‘मुलुकको आर्थिक र सामाजिक विकासमा व्यावसायिक क्षेत्रको प्रभाव र भूमिका बढ्दै गएको छ । यस सन्दर्भमा व्यावसायिक क्षेत्रको पनि जिम्मेवारी बढ्दो छ । यसको कार्यान्वयनको भूमिकामा सबै सरोकारवालाहरु जिम्मेवार बन्न सक्नुपर्छ । तब मात्र यसको कार्यान्वयन सहज हुन्छ,’ उनले भने ।

यस्तै महासंघका उपाध्यक्ष सूरकृष्ण वैद्यले उद्योग/व्यवसाय क्षेत्रले व्यवसाय र मानव अधिकारप्रतिको सजगता अपनाउँदा आफ्नो व्यवसाय सञ्चालनबाट हुन सक्ने सम्भावित जोखिम पहिचान गर्न मद्दत पुग्ने बताए । यस्तै उनले व्यवसायले मानवअधिकारलाई आफ्नो व्यवस्थापन प्रणालीमा समाहित गर्दा कम्पनीको सुशासनमा सुधार र नयाँ अवसर सिर्जना हुन सक्ने धारणा राखे । उपाध्यक्ष वैद्यले व्यवसाय तथा मानवअधिकार राष्ट्रिय कार्ययोजनालाई कार्यान्वयन गर्नमा पनि सकृय रहने प्रतिबद्धता व्यक्त जनाए ।

यूएनडीपीका पोर्टफोलियो म्यानेजर टेक टमाटाले व्यवसाय र मानवअधिकारको क्षेत्र बहुसरोकारको विषय भएको बताउँदै यसको कार्यान्वयनका लागि सबै पक्ष उत्तिकै जिम्मेवार रहने बताए ।

उनले नेपाल विश्व बजारमा प्रवेश गर्दै गर्दा व्यवसाय र मानवअधिकार (विप्लस एचआर) लागु भएका देशहरुमा हाम्रो व्यापार व्यवसाय विस्तार गर्दा यो विषय आवश्यक पर्ने धारणा राखे । यस्तै उनले कार्ययोजनाको प्रभावकारी कार्यान्वयनका लागि विकास साझेदारहरुको भूमिका पनि महत्त्वपूर्ण हुने बताए ।

महासंघले व्यवसाय र मानवअधिकारका विषयमा जानकारी गराउन सातै प्रदेशमा सरोकारवालाहरुसँग अन्तर्क्रिया कार्यक्रमहरु आयोजना गरिसकेको छ । नेपालमा रोजगारदाता संस्थाको रुपमा कार्य गरिरहेको सन्दर्भमा महासंघले नेपाल सरकार, रोजगारदाता र ट्रेड युनियनसँग त्रिपक्षीय सहमति र साझेदारीमा श्रम र श्रमिकसँग सम्बन्धित विभिन्न कार्य गर्दै आइरहेको छ ।