काठमाडौं, जेठ १६ :

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बाढीबाट हुने क्षति न्यूनीकरणका लागि सरकारले पूर्वसूचना प्रणालीलाई प्राथमिकतामा राखेको बताएका छन् ।

प्रतिनिधिसभाअन्तर्गत रहेको पूर्वाधार विकास समितिको सिंहदरबारमा शुक्रबार बसेको बैठकमा उनले वर्षाका कारण हुने क्षति न्यूनीकरण गर्न सरकारले पूर्वसूचना प्रणालीलाई विशेष प्राथमिकतामा राखेको बताएका हुन् ।

‘कम्तिमा वडा तहमा कार्यरत जनप्रतिनिधीलाई बाढी पहिरोबारे पूर्वसूचना सम्प्रेषण गर्न सकियो भने क्षति न्यूनीकरण गर्न सकिन्छ भनेर सरकारले काम गरिरहेको छ,’ उनले भने । सामान्यभन्दा बढी पानी पर्ने अनुमान यस वर्ष गरिएकाले सोहीअनुसार पूर्वसूचना प्रणालीलाई मजबुत बनाउन सरकार लागिरेहको उनको भनाइ छ ।

उनले मौसम पूर्वसूचना प्रणालीबारे जल तथा मौसम विज्ञान विभागमार्फत थप जानकारी लिएर अगाडि बढ्नसके क्षति न्यूनीकरणमा सघाउ पुग्ने बताए । जनप्रतिनिधि र सरकार बेलैमा जिम्मेवार भए क्षति न्यूनीकरणमा सहयोग पुग्ने उनको भनाइ छ ।

ऊर्जामन्त्री खड्काले विद्युत् विधेयकलाई कसरी समृद्ध बनाउन सकिन्छ भन्नेबारे मन्त्रालय लागिरहेको बताए । बजेटको बीचमा विधेयक ल्याउन सकिए ऊर्जा क्षेत्रको विकासमा सहयोग पुग्ने उनको भनाइ छ ।