
गान्सु, जेठ १७ :
चीन भ्रमणमा रहेकी पूर्वराष्ट्रपति विद्या भण्डारीले चिनियाँ उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गरेकी छिन्।
साताव्यापी भ्रमणअन्तर्गत गान्सु प्रान्त पुगेकी भण्डारीले शनिबार उपराष्ट्रपति झेङसँग दुई देशबीचको कूटनीतिक र पार्टीस्तरीय सहकार्य सुदृढ गर्ने विषयमा कुराकानी गरेकी हुन्।
भ्रमण टोलीका सदस्य एवं एमाले नेता कर्णबहादुर थापाका अनुसार भेटमा नेपाल–चीन सम्बन्धलाई अझ प्रगाढ बनाउने र आपसी हितका विषयमा संवाद भएको थियो।
यसै क्रममा भण्डारीले गान्सु प्रान्तका पार्टी उपप्रमुख रेन जेन्हेसँग पनि भेट गरेकी थिइन्। भेटमा नेपाल, चीन र गान्सु प्रान्तबीचको सम्बन्ध विस्तारबारे छलफल भएको थियो। पूर्वराष्ट्रपति भण्डारी उद्योगमन्त्री दामोदर भण्डारीसहित एमाले नेताहरूको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन गएकी हुन्।