डोटी, जेठ १८ :

डोटीको केआईसिंह गाउँपालिका ५, केदार गाउँमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा थप आठजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दीपेन्द्रकुमार पालका अनुसार आज (आइतबार) बिहान बोगटान फुड्सिलको गगुडाबाट दिपायलतर्फ आउँदै गरेको सुपप्र ०१००१ज.१४६४ नम्बरको जिप दुर्घटना हुँदा बोगटान फुड्सिल गाउँपालिका ६, गगुडाका ४२ वर्षीय मीन बमको मृत्यु भएको हो ।

दुर्घटनामा सख्त घाइते भएका उनलाई उपचारका लागि शैलेश्वरी अस्पताल दिपायल पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा जिप चालकसहित आठ जनाको शैलेश्वरी अस्पताल दिपायलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये एकको अवस्था सख्त, पाँचको मध्यम र दुईजनाको अवस्था सामान्य रहेको प्रहरीका सूचना अधिकारी पालले जानकारी दिए ।