सिन्धुली, जेठ १९ :

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विभिन्न स्तरबाट फैलाइँदै आएका अफवाह र कुप्रचारप्रति चिन्ता व्यक्त गर्दै ती भ्रममा नपरी देशको विकासमा समर्पित हुन आग्रह गरेका छन् ।

सुनकोसी मरिन ड्राइभर्सन बहुउद्देशीय आयोजनाको स्थलगत अवलोकन गर्न सिन्धुली पुगेका खड्काले जिल्लास्थित पार्टी कार्यालयमा नेता कार्यकर्तासँगको भेटमा देशको हालको राजनीतिक, सामाजिक अवस्था र विकास रणनीतिबारे अवगत गराए ।

‘देशमा केही पनि नभएको होइन, धेरै काम भएका भएका छन्, केही हुँदै पनि छन्, धेरै काम गर्न सकिन्छ र गर्नु पनि पर्छ । त्यसका लागि सकारात्मक सोच र काम गर्ने इच्छाशक्ति अपरिहार्य छ,’ उनले भने । मन्त्री खड्काले केही तत्त्वहरू सामाजिक सञ्जाललगायतमा ‘हो कि हो कि’ जस्तो लाग्ने खालको हल्ला फैलाएर जनमानसमा भ्रम छर्ने प्रयास गरिरहेको उल्लेख गरे । उनले यस्ता भ्रामक गतिविधिबाट सचेत रहन पार्टी कार्यकर्ता र सर्वसाधारण नागरिकलाई आग्रह पनि गरे ।

गृहमन्त्रीमाथि उठेका पछिल्ला विवादबारे टिप्पणी गर्दै मन्त्री खड्काले कुनै प्रमाणबिना सार्वजनिक दबाबका आधारमा राजीनामा माग्नु अव्यवहारिक रहेको बताए । ‘यदि यसरी हल्लाका भरमा राजीनामा दिइयो भने बाँकी को रहन्छ र ? कानुनी प्रक्रिया नै अन्तिम निर्णायक हो,’ उनले प्रस्ट्याए ।

ऊर्जा मन्त्रालयको चालु आवको बजेट र नीति कार्यक्रमबारे जानकारी गराउँदै मन्त्री खड्काले यो बजेट सन्तुलित भएको र कार्यान्वयनमा गएपछि यसको प्रभाव जनताले प्रत्यक्ष रूपमा महसुस गर्ने दाबी गरे । उनले ऊर्जा क्षेत्रबाटै मुलुकमा समृद्धि हासिल हुने र गरिबी निवारण हुने बताउँदै उनले सरकार गरिब तथा विपन्न परिवारलाई लक्षित गर्दै बिनाधितो दुई लाखदेखि पाँच लाख रुपैयाँसम्मको सेयर उपलब्ध गराउने नीति ल्याएको बताए ।

केही भएन भन्ने भाष्य सिर्जना गर्नेहरु बढे पनि यथार्थ त्योभन्दा फरक रहेको उनको भनाइ छ । उनले मेरै कार्यकालमा क्षेत्रीय ऊर्जा व्यापारतर्फ नेपालले उल्लेखनीय सफलता हासिल गर्दै बंगलादेशसँग ४० मेगावाट विद्युत् बिक्री सुरु गरिएको बताए । अब भारतसँग १० हजार र बंगलादेशलगायत तेस्रो मुलुकसँग ५ हजार गरी १५ हजार मेगावाट विद्युत् निर्यात गर्ने सुनिश्चितता कायम भएको उनको भनाइ छ । ‘यसले देशको आर्थिक सबलीकरणमा टेवा पुर्‍याउनेछ,’ उनले भने ।

समाजमा बढ्दो असन्तोष, निराशा र हल्लाका कारण उत्पन्न नकारात्मक वातावरणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै मन्त्री खड्काले संयमित भएर आफू मात्रलाई नभई आफ्ना सन्तानको भविष्यसमेत हेरेर देश निर्माणको अभियानमा जुट्न आह्वान गरे । ‘समाजलाई भड्किन नदिऔं, देश बनाउने अरू होइन, हामी आफैं हौं,’ उनको अपिल थियो ।

पार्टी कार्यलयमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस सिन्धुलीका जिल्ला उपसभापति दीपककुमार घिमिरे, कांग्रेस संसदीय दलकी सचेतक सांसद सुनीता थिङ, जिल्ला पार्टीका पूर्वसभापति मोहनप्रसाद बराल, उज्ज्वल बराललगायत नेता-कार्यकर्ताको उपस्थिति थियो ।