काठमाडौं, जेठ २० :

संयुक्त राष्ट्रका महासचिवले आइतबार गाजामा राहत वितरण केन्द्र नजिकै प्यालेष्टिनीहरु मारिएको घटनामा स्वतन्त्र छानबिनको माग गरेका छन्।

सो घटनाबारे विभिन्न  विरोधाभासी रिपोर्टहरू आइरहेका छन् ।  इजरायली सेनाले खाद्यान्न संकलनका लागि लाइनमा बसेका व्यक्तिहरूमाथि गोली चलाएको भनिएको छ।

रफाहस्थित अमेरिकी तथा इजरायल-समर्थित गाजा ह्युम्यानिटेरियन फाउन्डेसनद्वारा सञ्चालित केन्द्रमा खाद्यान्न लिनको लागि पर्खिरहेका बेला गोली चलाइएको बताईएको छ ।

अस्पतालमा १ सय ७९ जना घाइते भएको रेडक्रसले जनाएको छ ।  जसमा २१ जनाको मृत्यु भइसकेको समाचार छ । हमासद्वारा सञ्चालित सिभिल डिफेन्स एजेन्सीले मृतकको  सङ्ख्या ३१ रहेको जनाएको छ।

आइतबार इजरायली सेनाले आफ्ना सेनाले राहत केन्द्र नजिक वा भित्र सर्वसाधारणमाथि गोली चलाएको दाबी असत्य भएको बताएको थियो।

फाउण्डेसनले यी रिपोर्टहरूलाई पूर्णरूपमा बनावटी भनेको छ र घटनास्थलमा कुनै आक्रमण भएको प्रमाण आफूले नदेखेको जनाएको छ।

इजरायलले अन्तर्राष्ट्रिय समाचार संस्थाहरूलाई गाजामा प्रवेश गर्न नदिएकोले त्यहाँ के भइरहेको छ भन्ने कुरा यकिन गर्न गाह्रो भएको छ।

संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले सोमबार एक विज्ञप्तिमा भनेका छन्  “म गाजामा राहत लिन गएका प्यालेष्टिनीहरु मारिएको र घाइते भएको रिपोर्टबाट अत्यन्तै दुःखी छु। म ती घटनाहरूमा तत्काल र स्वतन्त्र छानबिनको माग गर्दछु र दोषीहरूलाई जवाफदेही बनाउनुपर्छ।”

इजरायली विदेश मन्त्रालयले एक्समा उनको भनाइलाई लाजमर्दो भनेको छ र उनले हमासको केही उल्लेख नगरेको भन्दै आलोचना गरेको छ।