काठमाडौं, जेठ २० :

कराते प्रिमियर लिगमा ऐतिहासिक कास्य पदक जितेकी नेपाली कराते खेलाडी एरिका गुरुङ मंगलबार स्वदेश फर्किएकी छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई भव्य स्वागत गरिएको हो।

फ्रान्सको कांटिनामा सम्पन्न कराते वान प्रिमियर लिगको महिला ६८ केजीमाथिको तौल समूहमा एरिकाले फ्रान्सेली खेलाडी पिए क्लेमेन्सलाई पराजित गर्दै कास्य पदक जितेकी थिइन्। यो पदकसँगै उनी कराते प्रिमियर लिगमा पदक जित्ने पहिलो नेपाली खेलाडी बन्न सफल भएकी हुन्।

 

 

प्रतियोगितामा छनोट भएसँगै यस्तो प्रतिष्ठित अन्तर्राष्ट्रिय लिगमा सहभागी हुने पहिलो नेपाली खेलाडीको कीर्तिमान पनि एरिकाले बनाएकी थिइन्। सेमिफाइनलमा पराजित भएकी एरिकाले कास्यका लागि पुनः खेल्ने मौका पाएकी थिइन्। उनलाई हराउने स्पेनी खेलाडी मारिया टोरेसले स्वर्ण पदक जितेकी थिइन्।

यसअघि एरिकाले चीनको हान्झाउमा सम्पन्न १९औं एसियाली खेलकुदमा रजत पदक जितेकी थिइन्। हालको कास्य पदकसहित अन्तर्राष्ट्रिय स्तरमा नेपालका लागि उत्कृष्ट उपलब्धि दिलाउने खेलाडीको रूपमा एरिका थप स्थापित भएकी छन्।