काठमाडौं, जेठ २१ :

राजसंस्था र हिन्दुराज्य पुनर्स्थापनाको मागसहित आन्दोलनमा उत्रिएका राजावादी नेताहरूलाई सरकारले अंगरक्षक (पीएसओ) नदिने भएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा गृहमन्त्री रमेश लेखकले आन्दोलन जारी रहेसम्म सुरक्षाकर्मी नखटाइने स्पष्ट पारे ।

 राप्रपा नेता बुद्धिमान तामाङको प्रश्नमा मन्त्री लेखकले आन्दोलनका कारण अन्य स्थानमा सुरक्षाको आवश्यकता भएकाले अंगरक्षक फिर्ता गरिएको जानकारी दिए । उनले भने, ‘तपाईंहरूकै आन्दोलनका कारण सुरक्षा बढ्ता चाहिएको हो । ती सुरक्षाकर्मीहरूलाई तत्कालका लागि अन्यत्र खटाइएको हो । आन्दोलन रोकिएपछि अंगरक्षक पुनः दिइनेछ ।’

 

 

केही दिनअघि राप्रपाका नेताहरू ध्रुवबहादुर प्रधान, दीपक सिंह र ज्ञानबहादुर शाहीका अंगरक्षक फिर्ता गरिएका थिए । त्यतिबेला प्रहरी अधिकारीहरूले उनीहरूलाई आन्दोलनबारे ब्रिफिङका लागि मात्र बोलाइएको बताएका थिए, तर त्यसयता अंगरक्षक पुनः खटाइएको छैन । मन्त्री लेखकले गणतन्त्र, संघीयता र लोकतन्त्रबाट पछि फर्किन नसकिने भन्दै संविधान फाल्ने प्रयास नगर्न सबैलाई आग्रह पनि गरे । 

यस्तै उनले पदबाट राजीनामा नदिने अडान दोहोर्‍याएका छन् । बैठकमा भिजिट भिसा प्रकरणको विषय उठेपछि गृहमन्त्री लेखकले राजीनामा नदिने तर संसदमा आफूले जवाफ दिन पाउनुपर्ने बताएका हुन् ।

संसदमा बोल्न पाउनुपर्ने वातावरण बनाइदिन विपक्षी दललाई मन्त्री लेखकले आग्रह गरेका छन् । संसदमा जवाफ दिँदा सबै सदस्यहरुको जिज्ञासा मेटिनेसमेत उनको भनाइ छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक पनि विवादमा तानिएको भन्दै विपक्षी दलहरुले राजीनामा माग्दै संसद अवरुद्ध पार्दै आएका छन् । सभामुख देवराज घिमिरेले आज (बुधबार) दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बोलाएका छन् । यद्यपि दलहरुबीच सहमति नजुटेको अवस्थामा संसद् बैठक अवरुद्ध हुने प्राय: निश्चित छ ।