काठमाडौं, जेठ २२ :

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले संसदमा जारी गतिरोध अन्त्य गर्न अधिकतम प्रयास गर्ने निर्णय गरेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बिहीबार बिहान बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि पार्टी प्रवक्ता अग्नि सापकोटाले माओवादी केन्द्र जिम्मेवार प्रतिपक्षी दल भएको भन्दै संसदको अवरोध हटाउन सिर्जनात्मक र रचनात्मक ढंगले अघि बढ्ने बताए ।

‘हामी जिम्मेवार प्रतिपक्षका रूपमा समाधानतर्फ लाग्नेछौं,’ प्रवक्ता सापकोटाले भने, ‘निकास निकाल्न सिर्जनात्मक र रचनात्मक भूमिका खेल्ने निर्णय भएको छ ।’

माओवादी केन्द्रसहितका विपक्षी दलहरू भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै संसद अवरुद्ध गर्दै आएका छन् । प्रवक्ता सापकोटाले भिजिट भिसा प्रकरण गम्भीर विषय भएको बताउँदै निष्पक्ष छानबिनको माग दोहोर्याए ।

गृहमन्त्री लेखकमाथि आरोप लागेपछि विपक्षी दलहरु राजीनामाको अडानमा अडिएका छन् । तर, लेखकले अहिलेसम्म राजीनामा नदिएपछि संसद चल्न सकेको छैन ।

सापकोटाले आज फेरि सरकार र विपक्षी दलहरूबीच छलफल हुने भन्दै सदन चल्ने वातावरण बनाउनु सबैको जिम्मेवारी भएको बताए । यसको सदन अवरुद्ध हुँदा यसको असर बजेटमाथिको छलफलमा परेको छ ।