काठमाडौं, जेठ २३ :

नेपाल पर्यटन बोर्ड र नेपालस्थित चिनियाँ दूतावासको संयुक्त आयोजनामा सुरु भएको चिनियाँ भाषा प्रशिक्षणको सातौं ब्याचको औपचारिक उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गरेका छन् ।

बोर्डको सभाहलमा शुक्रबार आयोजना गरिएको कार्यक्रममा उनले पर्यटन पेसाकर्मी तथा व्यवसायीलक्षित गर्दै सुरु गरिएको चिनियाँ भाषा प्रशिक्षणले नेपालको पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । उनले भाषिक ज्ञानले नेपाल-चीन सम्बन्धमा सेतुको काम गर्ने बताए । ‘चिनियाँ भाषाको ज्ञानले पर्यटन प्रवर्द्धनमा टेवा पुग्नेछ भन्ने विश्वास लिएको छु,’ उनले भने ।

भाषिक दक्षता हुनु भनेको जीवनको सम्पत्ति हो भन्दै मन्त्री पाण्डेले भाषिक सीपले व्यक्तिबीचको अन्तरसम्बन्ध बलियो बनाउने उल्लेख गरे । ‘जति धेरै भाषिक ज्ञान हासिल गर्न सकियो, त्यति नै योग्यता अभिवृद्धि भएको मानिन्छ । भाषामा दक्ष हुँदा अर्को व्यक्तिसँगको निकटता कायम गर्न सहजता सिर्जना हुन्छ,’ उनले भने ।

मन्त्री पाण्डेले भाषा केवल सञ्चारको माध्यम मात्र नभई सभ्यता, इतिहास र दर्शनको संवाहक पनि भएको बताए । चिनियाँ भाषा सिक्नेहरू सांस्कृतिक दूतका रूपमा काम गर्न सक्ने उनको भनाइ छ । ‘चिनियाँ भाषाको अनुवादक हुनु भनेको सीपयुक्त जनशक्ति निर्माण गर्नु हो,’ उनले भने, ‘यसले पर्यटन विकासमा सहयोग पुग्छ र स्वरोजगार सिर्जना गर्न पनि मद्दत गर्छ ।’

कार्यक्रममा मन्त्री पाण्डेले नेपाल भ्रमण वर्षको सन्दर्भमा चिनियाँ नागरिकलाई नेपालको प्राकृतिक सौन्दर्य अवलोकन गर्न आग्रहसमेत गरे । उनले भने, ‘नेपाल जति हेरे पनि पुग्दैन, हेरिरहुँ लाग्छ । चिनियाँ साथीहरूलाई म नेपालको प्रकृति अवलोकन गर्न आमन्त्रण गर्दछु ।’

जलवायु परिवर्तनका असरबारे मन्त्री पाण्डेले नेपालका हिमाली क्षेत्रमा हिउँको मात्रा घट्दै गएको र त्यससँगै अनुकूलन तथा न्यूनीकरणका प्रयास भइरहेका जानकारी दिए ।

त्यस अवसरमा नेपालका लागि चिनियाँ राजदूत छेन सोङले भाषा प्रशिक्षण कार्यक्रम नेपाल-चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७५औं वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको जनाए । उनले भने, ‘नेपाल आएदेखि म तेस्रोपटक भाषा प्रशिक्षणको उद्घाटनमा सहभागी भएको छु । नेपाल आउने चिनियाँ पर्यटक आफ्नै भाषामा संवाद गर्न चाहन्छन् । त्यसैले यस कार्यक्रमले पर्यटन सेवाको गुणस्तर वृद्धि गर्नेछ ।’

राजदूत सोङले चिनियाँ भाषा पर्यटन बजारको ढोका खोल्ने सुनौलो अवसर भएको उल्लेख गर्दै चिनियाँ पर्यटक केवल सामान खरिद गर्न मात्र नभई स्थानीय संस्कृति बुझ्न र भाषिक पहुँच चाहने भएकाले चिनियाँ भाषामा दक्ष जनशक्ति आवश्यक भएको धारणा राखे ।

‘चिनियाँ भाषाको ज्ञानले पर्यटकलाई नेपालको ऐतिहासिकता बुझाउन सहयोग गर्छ र सेवाको दीर्घकालीन गुणस्तर उकास्न सघाउँछ,’ उनले भने । त्यस्तै नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मतसिंह ऐरले भाषा तालिम कार्यक्रम नेपाल-चीन सम्बन्धलाई अझ सुदृढ बनाउने पहल भएको बताए । ‘यो तालिम केवल भाषिक ज्ञानको सुरुआत होइन, दुई देशबीचको सम्बन्ध बलियो बनाउने पुल पनि हो,’ उनले भने ।

निमित्त सीईओ ऐरले तालिमले पर्यटन पेसाकर्मीहरूको सीप र क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । ‘भाषामा दक्ष पेसाकर्मीहरू अन्तर्राष्ट्रिय पर्यटन बजारमा प्रतिस्पर्धी बन्नेछन् । उहाँहरू सांस्कृतिक दूतको भूमिकामा देखिन सक्नुहुन्छ,’ उनले भने ।

नेपालमा सन् २०१६ देखि सुरु भएको चिनियाँ भाषा प्रशिक्षण कार्यक्रममार्फत अहिलेसम्म २४० जना पर्यटन पेसाकर्मीहरू प्रशिक्षण प्राप्त गरिसकेका छन् । यो कार्यक्रम प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा गरिएका सहमतिअनुसार सञ्चालन भइरहेको छ ।