झापा, जेठ २४ :

 पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशलाई समृद्ध बनाउन विज्ञान र प्रविधिको विकासमा जोड दिन जरूरी रहेको बताएकी छन्।

झापाको बिर्तामोडमा नेकपा एमाले कोसी प्रदेशको विज्ञान तथा प्रविधि विभागले आयोजना गरेको तीन दिने विज्ञान प्रदर्शनी उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन्।

उद्घाटन कार्यक्रममा उनले मोबाइल एप ‘टच’ गरेर दीप प्रज्वलन गरिन्। उनले बालबालिकालाई किताबको घेराभित्र मात्र सीमित नराखी वैज्ञानिक सोच राख्न प्रेरित गर्नुपर्ने बताइन्।

पूर्वराष्ट्रपति भण्डारीले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापाबाट यस्तो कार्यक्रम सुरु हुनु सकारात्मक कुरा भएको बताइन्।

कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य शेरधन राईले प्रदर्शनीमा देखाइएका आविष्कारहरूलाई व्यवहारमा ल्याउने पार्टीको प्रयास हुने बताए। उनले नयाँ सोच र सम्भावनाले भविष्य बनाउने विश्वास पनि व्यक्त गरे।

देवी माविका प्रधानाध्यापक अम्बिका श्रेष्ठले आफ्नै विद्यालयमा प्रदर्शनी भएकोमा खुसी व्यक्त गर्दै आयोजकलाई धन्यवाद दिइन्।

विज्ञान विभाग प्रमुख गणेश पोखरेलका अनुसार प्रदर्शनीमा करिब १ लाख विद्यार्थी सहभागी हुने अनुमान छ। कोशी प्रदेशका धेरै जिल्लाबाट विद्यार्थी सहभागी भएका छन्।

प्रतियोगितामा सहभागी ५ सय विद्यार्थीमध्ये उत्कृष्ट ४ जनालाई क्रमशः ४ लाख, ३ लाख, २ लाख र १ लाख रुपैयाँ पुरस्कार दिइनेछ। साथै, २५ वटा विद्यालयले जनही २५ हजार रुपैयाँ सान्त्वना पुरस्कार पाउनेछन्। प्रदर्शनी जेठ २६ गतेसम्म सञ्चालन हुनेछ।