
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमको बिलिङ प्रणाली मर्मतसम्भारसम्बन्धी ठेक्कामा अनियमितता भएको ठहर गर्दै प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले आइतबार दायर गरेको अभियोगपत्रमा हालकी एमडी पहाडी, पूर्व एमडी तथा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, प्राविधिक प्रमुख प्रतिभा श्रेष्ठसहितका अधिकारीहरूबाट ३३ करोड ४८ लाख १७ हजार ४३० रुपैयाँ बराबरको भ्रष्टाचार भएको दाबी गरिएको छ।
अभियुक्त सूचीमा टेलिकमका तत्कालीन उच्च पदस्थ कर्मचारीहरू राजेन्द्र श्रेष्ठ, धवीन्द्रलाल उपाध्याय, देवेन्द्र खतिवडा, विनिता श्रेष्ठ, अमूल प्रधान, राजीवकुमार केसी, हेमप्रभा रामप्रताप कर्ण, नवल चौधरी, मुक्तिप्रसाद अर्याल, शंकरकुमार श्रेष्ठ, परमात्मा भट्टराई र शैलेस श्रेष्ठ पनि छन्।
यसबाहेक ठेक्का पाएको चिनियाँ कम्पनी, त्यसका सिनियर डाइरेक्टर लङ योङ र म्यानेजर हुवाङ ओई समेत प्रतिवादीमा परेका छन्।
अख्तियारका अनुसार ठेक्का लम्ब्याउने, मर्मत शुल्क निर्धारण तथा प्रक्रियागत काममा मिलेमतो गरी भ्रष्टाचार गरिएको प्रारम्भिक अनुसन्धानमा देखिएको हो।
यस प्रकरणमा मुद्दा दायर गर्नुअघि पूर्वमुख्यसचिव डा. वैकुण्ठ अर्याल, दुई सहसचिव, सञ्चालक समिति सदस्यसहित करिब ३० जनाबाट बयान लिइएको थियो।
विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलविरुद्ध पनि मुद्दा दर्ता भएको छ ।