
स्कटल्यान्डले नेपाललाई ३२४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। स्कटल्यान्डले डन्डीस्थित फार्थहिल मैदानमा जारी आइसिसी विश्वकप लिग टु अन्तर्गतको खेलमा टस जितेर ब्याटिङ रोजेको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३२३ रन बनायो।
कप्तान रिची बेरिङ्टनले १ सय २ रनको शतकीय इनिङ खेले भने माइकल लिस्क ९६ रनमा अविजित रहे। दुवैले छैठौं विकेटका लागि १२५ रनको महत्वपूर्ण साझेदारी गरे। चार्ली टेयरले पनि ६८ रनको योगदान दिए।
नेपालका करण केसी र दीपेन्द्र सिंह ऐरीले समान २/२ विकेट लिए भने ललित राजबंशीले १ विकेट लिए। डेथ ओभरमा नेपाल कमजोर देखिँदै अन्तिम १० ओभरमा १२३ रन खर्चियो।
यसअघि सोमबार भएको खेलमा नेपालले स्कटल्याण्डलाई १ विकेटले हराएको थियो। करण केसीले त्यस खेलमा पहिलो अर्धशतक बनाउँदै नेपाललाई जित दिलाएका थिए।
अब नेपालले लिग टु अन्तर्गत अन्तिम खेल मंगलवार नेदरल्याण्ड्ससँग खेल्नेछ। आठ टोली सहभागी लिगमा स्कटल्याण्ड २२ अंकसहित चौथो स्थानमा छ भने नेपाल १४ खेलमा १० अंकसहित सातौं स्थानमा रहेको छ।
लिगको अन्त्यमा शीर्ष ४ टोलीले विश्वकप ग्लोबल छनोटमा स्थान बनाउनेछन्। असार १ (१५ जुन) देखि नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्सबीच त्रिकोणात्मक टी–२० आई सिरिज सुरु हुने छ।