काठमाडौं, जेठ २७ :

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो राजनीतिक सक्रियता र कार्यकर्ता भेटघाटका लागि नेकपा एमालेको संस्थागत अनुमति आवश्यक नपर्ने बताएकी छन् ।

विराटनगर विमानस्थलमा मंगलबार बिहान सञ्चारकर्मीसँग उनले कार्यक्रमहरूमा सहभागी हुन कसैसँग अनुमति लिनुपर्ने आवश्यकता नरहेको बताएकी हुन् ।

राष्ट्रपति पदबाट अवकाशपछि बढ्दो राजनीतिक भेटघाटबारे उठेका प्रश्नहरूको जवाफ दिँदै उनले एमाले आफ्नो रगत र पसिनाले बनेको पार्टी भएकाले त्यहाँका नेता-कार्यकर्तासँग संवाद गर्न कसैको स्वीकृति नचाहिने उनको स्पष्टोक्ति छ । ‘राष्ट्रपति हुनुभन्दा पहिले, संगठित सदस्यता लिनुभन्दा पहिलेदेखि नै मैले पार्टीमा काम गरेकी हुँ,’ उनले भनिन्, ‘पार्टीका कार्यक्रममा मलाई बोलाउनु स्वाभाविक हो र त्यसमा सहभागी हुन मैले अनुमति लिइरहनु पर्दैन ।’

उनले आफ्नो सक्रियतालाई स्वाभाविक कर्तव्यको संज्ञा दिइन् । उनले समाज र जनताका आकांक्षा बुझ्न आफू देशभर घुमफिर गरिरहने बताइन् । उनले राष्ट्रिय आकांक्षा साकार पार्नु हाम्रो परम् कर्तव्य रहेको पनि बताइन् । यसका लागि उनले देश र नयाँ पुस्ताका निम्ति बाँचुन्जेल संघर्ष गर्नुपर्ने धारणा व्यक्त गरिन् ।

आफूले कुनै गुटको राजनीति नगरेको पनि बताइन् । कोसीका मोरङ, सुनसरी र झापामा भएका विभिन्न कार्यक्रममा सहभागी भएर पूर्वराष्ट्रपति भण्डारी आज (मंगलबार) राजधानी फर्किएकी छन् ।

-फाइल तस्बिर