काठमाडौं, जेठ २७ :

नेकपा (एमाले) पार्टीमा पूर्वराष्ट्रपति विद्या भण्डारीको सक्रियता बढेसँगै अध्यक्ष केपी शर्मा ओलीसँगको सम्बन्धमा चिसोपन देखिन थालेको छ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै भण्डारीले पार्टी कार्यकर्तासँग भेटघाट गर्न अनुमति लिनु नपर्ने स्पष्ट पारिन्। ‘मैले कार्यकर्तासँग भेट्न एमालेको इजाजत लिनुपर्छ र?’ भन्दै उनले एमालेमा औपचारिक सदस्यता नलिए पनि लामो समयदेखि पार्टीमा योगदान पुर्‍याएको स्मरण गराइन्।

अध्यक्ष ओलीले केही दिनअघि पार्टीभित्र गुटगत राजनीति नगर्न कार्यकर्तालाई चेतावनी दिएका थिए। त्यसपछि भण्डारीको सक्रियतालाई लक्षित गर्दै ‘कोही मान्छे पुन: आउँदैछ भन्ने भ्रम छरिँदैछ’ भन्ने ओलीको अभिव्यक्तिले विवाद चर्किएको छ।

तर भण्डारीले आफू गुट बनाउने प्रवृत्तिको नरहेको बताउँदै ओलीको भनाइ आफूलाई लक्षित गरेर नभएको धारणा व्यक्त गरिन्। ‘म कहिल्यै गुट बनाउने मान्छे होइन,’भन्दै उनले ओलीसँगको मतभेदको सम्भावना अस्वीकार गरिन्। पार्टीभित्र गहिरिँदो आन्तरिक प्रतिस्पर्धा र भण्डारीको सक्रिय राजनीतिमा फर्कने संकेतले ओली–विद्या सम्बन्धमा तनाब बढिरहेको संकेत देखिएको छ।