ललितपुर, जेठ २७ :

प्रधानमन्त्री केपी ओलीले पत्रकारिताले परपीडक नभई सकारात्मक र विश्लेषणत्मक चेतका साथ समाजलाई बाटो देखाउनुपर्ने बताएका छन् ।

ललितपुरमा मंगलबार आयोजित एक कार्यक्रममा उनले विश्लेषणात्मक चेतले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्ने भएकाले सत्यलाई अँगाल्न आग्रह गरे । ‘झुटमुटमा क्रिटिकल हुनु पर्दैन, निष्पक्ष हुँदा पुग्छ, अलोचनात्मक चेत मात्रैले राम्रोमा पनि खराब देख्छ, एउटालाई राम्रो देखाउन अर्कोलाई गाली गर्छ, आफ्‌ना लागि सत्य बङ्ग्‌याइहाल्नुपर्ने खालको प्रवृत्ति हुनु हुँदैन,’ उनले भने ।

उनले इमानदारको खडेरी देशमा परेको हुँदैन । कसैले आफ्‌ना स्वार्थले अरुलाई इमानदार देख्दैन त कसको के लाग्छ ? भन्दै प्रतिप्रश्नसमेत गरे । प्रधानमन्त्री ओलीले सञ्चारमाध्यमले अनेक क्षेत्रमा यथोचित व्यवस्थापनसहित सुझाव दिनुपर्ने आवश्यकता औंल्याए ।