काठमाडौं, जेठ २८ :

सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले संसद्‌मा जारी अवरोध छिट्टै हट्न विश्वास व्यक्त गरेका छन् । आज मन्त्रालयमा पत्रकारहरूसँग कुरा गर्दै उनले सत्ता पक्ष र प्रतिपक्षबीच सहमतिको प्रयास भइरहेको जानकारी दिए ।

उनका अनुसार भिजिट भिसाको विषयमा गृहमन्त्री रमेश लेखकले संसद्‌मा जवाफ दिने, छानबिन समिति बनाउनेजस्ता विषयमा छलफल भइरहेको छ ।

गुरुङले भने, ‘अहिले बढीमा संसदीय छानबिन समिति कसरी बनाउने भन्ने विषयमा छलफल भइरहेको छ । हामी चाहन्छौं मन्त्रीले संसद्‌मा सरकारको धारणा राखून् र प्रतिपक्षले संसद्‌ खोल्न सहयोग गरोस् । त्यसपछि बजेटको छलफल अघि बढ्छ ।’

उनले सम्भवतः आज वा भोलिसम्म सहमति हुन सक्ने विश्वास व्यक्त गरे । साथै, साना विषयलाई लिएर राजनीति जटिल बनाउनु नहुने भन्दै सबै पक्ष जिम्मेवार बन्नुपर्ने उल्लेख गरे ।