काठमाडौं, जेठ २८ :

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिनको माग गर्दै संसद् अवरुद्ध गरिरहेका विपक्षी दलहरू आज पनि विरोध जारी राख्ने भएका छन्। प्रतिनिधिसभाको बैठकअघि आज नयाँ बानेश्वरमा विपक्षी नेताहरूबीच छलफल भएको थियो।

छलफलपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले छानबिन समिति नबनुञ्जेल संसद् अवरुद्ध भइरहने बताए। ‘हाम्रो अडान पहिले जसरी थियो, अहिले पनि त्यही छ,’ उनले भने। सदन सञ्चालनका लागि रास्वपाले राखेको  पाँच बुँदे प्रस्ताव माथि छलफल भएको थियो ।

छलफलमा माओवादी केन्द्रका वर्षमान पुन, हितराज पाण्डे, सचेतक सन्तोष परियार, नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डे लगायत सहभागी थिए।

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ। गृहमन्त्री लेखकमाथि भिसा प्रकरणमा संलग्न भएको आरोप लागेपछि जेठ १३ गतेदेखि विपक्षीले लगातार संसद् अवरुद्ध गरिरहेका छन्।

सरकारले छानबिन समिति गठन नगरेकाले संसद् सञ्चालनमा अवरोध भइरहँदा सत्ता-विपक्षबीच सहमति अझै जुट्न सकेको छैन।