
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आफूहरू झोल खाने नभई जनताका मुद्दा बोकेर हिँड्ने पार्टीको झोले भएको बताएका छन् ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनपछि उनले सञ्चारकर्मीहरुको प्रश्नमा यस्तो बताएका हुन् । आफूहरुले एमालेले उठाएका जनताका माग, मुद्दाका लागि झोला बोकेर हिँडेकोले नै अहिलेको यो स्थितिमा आइपुगेको बताए । पार्टीको नीति सिद्धान्त, झण्डा बोकेकाले एमाले पार्टीको झोले हुनमा गौरवबोध गर्नुपर्ने उनले बताए ।
मन्त्रिपरिषद्को ११ निर्णय सार्वजनिक, चीनसँगको व्यापार बैठकदेखि कानुन संशोधनसम्म
सुशासन नभइकन सामाजिक र आर्थिक रूपान्तरण हुन नसक्ने र त्यसको झोला एमालेले बोकिरहेको उनले बताए । राष्ट्र, राष्ट्रियता र जनताका मुद्दा बोकेर एमाले अघि बढेको मन्त्री गुरुङको बताए । एमालेको झोलामा राष्ट्रवादको सिद्धान्त रहेको समेत उनको भनाइ छ ।
पछिल्लो समय नेकपा एमालेले झोले शब्दलाई ब्रान्डिङ गरिरहेको छ । सबैजसो नेताहरुले म झोले हुँ भन्दै सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन् । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले नै झोले शब्दको प्रयोग आफूमाथि नै गरेर कार्यकर्ताहरुको हौसला बढाउन खोजेका छन् ।