काठमाडौं, जेठ २९ :

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले समाचार हटाउन अदालतले दिएको आदेश संविधानको भावना विपरीत भएको जनाएको छ । साथै पत्रकारविरुद्ध पक्राउ पुर्जी जारी गरिनु संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको भावना विपरीत भएको ठहर गरेको छ ।

उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले बिहीबार विज्ञप्ति जारी गर्दै पत्रकार दिलभूषण पाठकमाथि समाचार प्रसारण गरेको आधारमा पक्राउपूर्जी जारी गरिएको घटना तथा नेपालखबर डटकम र बिजमाण्डू डटकममा प्रकाशित समाचार हटाउन दिएको आदेशप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

‘सरकारको यस प्रकारको कार्य प्रेस स्वतन्त्रता, लोकतान्त्रिक मूल्य मान्यता र संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको भावना विपरित छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सरकारले प्रत्यक्ष रुपमा पक्राउपूर्जी जारी गरेर असहिष्णुता र दमनको नीति लिएको छ ।’

मिडियाबारे हेर्ने निकाय प्रेस काउन्सिल हुँदाहुँदै त्यसलाई छलेर सरकारले दमनको नीति लिएको समेत माओवादीको आरोप छ।