काठमाडौं, जेठ ३० :

गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी सांसदहरूको विरोधकाबीच उनले बोल्ने मौका पाएपछि आफूलाई राजनीतिक षड्यन्त्रमा पारिएको आरोपसमेत लगाए।

गृहमन्त्री लेखकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईलाई अख्तियारले सोधपुछ गरेको विषयमा सञ्चारमाध्यममार्फत मात्र थाहा पाएको बताए। ‘यस प्रकरणमा मेरो संलग्नता छैन, हुनै सक्दैन,’उनले भने, ‘ममाथि राजनीतिकरूपमा षड्यन्त्र गरिएको छ।’

उनले पछिल्लो समय पत्रपत्रिका, सामाजिक सञ्जाल र केही सांसदहरूले उठाएका आरोपहरूका बारेमा जवाफ दिन आफू स्वयम् सदनमा उपस्थित भएको स्पष्ट पारे। ‘सार्वजनिक पद धारण गरेकोले जवाफ दिन उपयुक्त ठानेर यहाँ आएको हुँ,’ उनले भने।

गृहमन्त्री लेखकले संवैधानिक निकायमार्फत छानबिन भइरहेका विषयहरूलाई सरकारसँग जोडेर टिप्पणी गर्नु अनुचित भएको बताए। उनले अघिल्ला वर्षहरूमा यस्ता प्रश्नहरू उठ्दा अन्य मन्त्रीहरूले जवाफ नदिएको उदाहरणसमेत प्रस्तुत गरे।

प्रतिनिधिसभामा रास्वपा र राप्रपाका सांसदहरूले भिजिट भिसा प्रकरणमा सरकारको संलग्नता भएको आरोप लगाउँदै कडा आपत्ति जनाउँदै आएका छन्। सभामुख देवराज घिमिरेले गृहमन्त्रीलाई जवाफ दिन समय दिँदा केही समयका लागि सदनमा तनाबपूर्ण वातावरण सिर्जना भएको थियो।