
काठमाडौं, असार १ :
सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा जारी अवरोध खुलाउनेबारे आज बिहान राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालसंग बानेश्वरस्थित कार्यकक्षमा छलफल गरेका छन् ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनसँग पनि टेलिफोनमा सदन खुलाउने बारे कुराकानी गरेका छन् ।
रास्वपा कार्यवाहक सभापति अर्यालसँगको छलफलमा सभामुखले संवैधानिक सीमाका कारण बजेटमाथिको छलफल सुरु गर्नै पर्ने बाध्यता रहेकोले अवरोधको स्वरूप बदल्न र सदनलाई मर्यादित बनाउन आग्रह गरेको बताईएको छ ।
रास्वपा कार्यवाहक सभापति अर्यालले आफूहरूको अवरोध जारी रहने बताउँदै संसद्लाई मर्यादित बनाउने प्रतिबद्धता जनाएको बुझिएको छ ।
सभामुख घिमिरेले राप्रपाका अध्यक्ष लिङ्देनलाई पनि संवैधानिक बाध्यता बुझिदिन आग्रह गरेका थिए ।