
प्रधानमन्त्री केपी ओलीले सालघारीको सर्पट फँडानी र चोरी निकासी रोक्न वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको वन मन्त्रालयको ब्रिफिङका क्रममा प्रधानमन्त्री ओलीले अहिले पनि केही जिल्लाहरुमा वन फँडानी र चोरी भइरहेको जानकारीमा आएकाले कडाइका साथ नियन्त्रण गर्न निर्देशन दिएका हुन् ।
वनमन्त्री ऐनबहादुर शाही, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसिया, मुख्यसचिव एकनारायण अर्याल, वन मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रसहितको छलफलमा ओलीले वैज्ञानिक वन व्यवस्थापनका नाममा हुने फँडानी रोक्नैपर्ने बताएका हुन् ।
ओलीले यसअघि गत वैशाख २७ गते सोही मन्त्रालयद्वारा गत आयोजित दोस्रो राष्ट्रिय वन सम्वर्धन गोष्ठीको उद्घाटन कार्यक्रममा पनि सालघारी प्रकृतिको अनुपम उदाहरण भएको र पानी पार्न यस्ता अग्ला रुखहरुको महत्त्व हुने भएकाले उमेर नपुगेसम्म साललाई व्यावसायिक उपयोगमा लान नहुने धारणा राखेका थिए ।
छलफलमा प्रधानमन्त्री ओलीले वन मन्त्रालयबाट दिइने वातावरणीय परीक्षण मूल्यांकन (ईआईए) को स्वीकृतिमा ढिलाइ हुँदा कतिपय आयोजनाको अवधि सकिए सञ्चालन अनुमति सकिने र धरौटी जफत हुने समस्यालाई ध्यान दिएर कानुनमा हुनुपर्ने संशोधनको प्रस्ताव ल्याउन आग्रह गरे ।
ब्रिफिङमा मन्त्रालयले तयार गरेको ‘नेपाल सवारी प्रदूषण मापदण्ड २०८२’ को मस्यौदाबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराइएको थियो । प्रस्तावित मापदण्डमा सवारीसाधनमा युरो-६ र समानताको मापदण्ड लगाउनेलगायत व्यवस्था गरिएका छन् ।
प्रधानमन्त्री ओलीले सवारी प्रदूषण मापदण्डका साथै वन-जंगल डढेलो र छिमेकी मुलुक लगायतबाट डढाइने छ्वालीको धुँवाका कारण नेपाली आकाश प्रदूषित हुने समस्याका विषयमा क्षेत्रीयस्तरमा सम्मेलन गरी समाधानको उपाय निकाल्नुपर्नेमा जोड दिए ।