जनकपुरधाम, असार १ :

मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि कुल ४६ अर्ब ५८ करोड ३३ लाख ५१ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। आइतबार प्रदेशसभा बैठकमा अर्थमन्त्री सुनिलकुमार यादवले बजेट प्रस्तुत गर्दै चालु आर्थिक वर्षको तुलनामा बजेट ६.१३ प्रतिशतले वृद्धि भएको जानकारी दिए।

बजेटमा चालू खर्चतर्फ १६ अर्ब ७२ करोड ५ लाख (३५.८९%) र पुँजीगत खर्चतर्फ ३० अर्ब २६ करोड २८ लाख (६४.११%) विनियोजन गरिएको छ। चालु आर्थिक वर्षमा सरकारले ४३ अर्ब ८९ करोड रुपैयाँ विनियोजन गरेको थियो।

बजेट स्रोततर्फ, सरकारले आन्तरिक राजस्वबाट ९ अर्ब ५० करोड, वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब ७२ करोड, सशर्त अनुदानबाट ४ अर्ब २६ करोड, विशेष अनुदानबाट ३९ करोड र समपूरक अनुदानबाट ३५ करोड गरी कुल १२ अर्ब ७३ करोड उठाउने योजना सार्वजनिक गरिएको छ।

त्यसैगरी, संघीय राजस्व बाँडफाँडबाट १२ अर्ब ३५ करोड र गत वर्षको बचतबाट १० अर्ब ३८ करोड संकलन गरिनेछ। यी स्रोतबाट कुल बजेटभन्दा २ अर्ब रुपैयाँ न्यून भएकाले उक्त रकम आन्तरिक ऋणमार्फत व्यहोर्ने अर्थमन्त्री यादवले स्पष्ट पारे।