
काठमाडौं, असार २ :
नेपाल राष्ट्र बैंकले तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षरयुक्त १० रुपैयाँको नयाँ नोट आजदेखि बजारमा पठाएको छ ।
बैंकले साबिककै आकार तथा रङमा संकेत नम्बर ०००००१ देखि प ९९९९९९ सम्मका १० रुपैयाँको नयाँ नोट बजारमा पठाएको हो ।
राष्ट्र बैंकका अनुसार नोटको अग्र भागअन्तर्गत बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको पानी छाप छ । नोटको तल्लो भागको बोर्डरमा नोटको सिरियल नम्बर नेपालीमा ‘वि.सं. २०८१’ लेखिएको छ ।
नोटको पृष्ठ भागअन्तर्गत नोटको मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा ‘NEPAL RASTRA BANK’ लेखिएको छ । नोटको मध्य भागमा कृष्णसारको चित्र छ । नोटको तल्लो भागको बोर्डरमा नोटको अंग्रेजीमा ‘रुपिज टेन’ र ‘Series Number’ अंग्रेजीमा ‘2024 A.D.’ लेखिएको छ ।