
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले निराशाभन्दा आशाको सञ्चार आवश्यक रहेको बताएका छन् ।
नेपाल प्रज्ञा प्रतिष्ठान र धार्मिक, सांस्कृतिक पत्रकार समाज नेपाल (रेक्जोन)को संयुक्त आयोजनामा काठमाडौंमा सोमबार आयोजित ‘विकासका लागि संस्कृति’ विषयक विचार गोष्मा उनले गहिरो अध्ययन र आत्मसमीक्षा नगर्दा समाजले स्पष्ट दिशा पाउन नसकेको उल्लेख गरे । उनका अनुसार निराशा फैलिँदा किशोरहरूको मनोविज्ञानमा नकारात्मक प्रभाव पर्ने र त्यसले पलायनको वातावरण सिर्जना गर्ने खतरा बढेको छ । ‘निराशा होइन, आशा सञ्चारको वातावरण बनाउनु आवश्यक छ,’ उनले भने ।
समस्याको समाधानका लागि संघ, प्रदेश र स्थानीय तहबीच आपसी समन्वय अपरिहार्य रहेको मन्त्री पाण्डेले जोड दिए । उनले सतही विश्लेषणका कारण समाजमा निराशा बढिरहेकोप्रति चिन्ता व्यक्त गरे । उनले भने, ‘संस्कृति भनेको केवल अभौतिक होइन, विकास भनेको भौतिक र अभौतिक दुवै आयाम समेट्ने प्रक्रिया हो । त्यसैले विकास सबैका लागि कल्याणकारी हुनुपर्छ ।’
फरक प्रसंगमा मन्त्री पाण्डेले द्वन्द्व व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय समुदायले सहयोग गरे पनि त्यसको अन्तिम रूपान्तरण नेपालीले नै गरेको उल्लेख गरे । देशमा आशाको माहोल निर्माण गर्नु अहिलेको आवश्यकता भएको उनको धारणा थियो ।