
प्रतिनिधिसभाको बैठक पर्सि ५ गते बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।
संसद् सचिवालयले सूचना टाँस गरेर बिहीबारसम्मका लागि बैठक स्थगित गरेको जनाएको हो ।
प्रमुख प्रतिपक्षी माओवादी केन्द्र दुईबुँदे सहमतिमा आएसँगै सभामुख देवराज घिमिरेले अवरोधका बीच पनि सदनलाई जबरजस्ती अगाडि बढाइरहेका थिए ।
भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकमाथि छानबिन र राजीनामाको माग राख्दै रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले संसद् बैठकमा निरन्तर विरोध गरेपछि मंगलबारको बैठक केही समय बसेर स्थगित भएको थियो ।
सभामुख घिमिरेले संसद्को अवरोध खुलाउन विभिन्न दलका सचेतकसँगै मंगलबार गृहमन्त्री रमेश लेखकसँग समेत छलफल गरेका थिए । तर सहमति नहुँदा मंगलबार बैठक निरन्तर हुन सकेन । अनि सूचना टाँसेर बिहीबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भयो ।
सभामुखको सचिवालयका अनुसार सहमतिका लागि दलहरुबीच गृहकार्य गरेर आउनेगरी बिहीबारका लागि बैठक राखेका हुन् ।