
‘श्रवणकुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष तथा आरएमसी ग्रुपका कार्यकारी अध्यक्ष राजेशकुमार अग्रवालबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
‘श्रवणकुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि सात लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने गरी मंगलबार नाफिज र अग्रवालबीच समझदारी भएको हो ।
समझदारीपत्रमा नाफिजकी अध्यक्ष मेनुका कार्की र परिसंघका अध्यक्ष अग्रवालले हस्ताक्षर गरेका छन् ।
गत २९ मंसिरमा सम्पन्न नाफिजको १५औं वार्षिक साधारणसभामा अध्यक्ष अग्रवालले आफ्ना दिवंगत पिता श्रवणकुमार अग्रवालको स्मृतिमा अक्षयकोष स्थापना गर्ने घोषणा गरेका थिए ।
गत साउनमा निधन भएका श्रवणकुमार अग्रवाल आरएमसी ग्रुपका संस्थापक हुन् । मारवाडी सेवा समितिका पूर्वअध्यक्षसमेत रहेका श्रवणकुमार अग्रवाल संविधानसभा सदस्यसमेत हुन् । उनको स्मृतिमा छोरा राजेशकुमार अग्रवालले अक्षयकोष स्थापना गर्ने घोषणा गरेपछि थप आवश्यक प्रक्रिया पूरा गरेर मंगलबार समझदारीपत्रमा हस्ताक्षर गरिएको हो । फेलोसिप दिने गरी नाफिजमा स्थापना हुन लागेको यो नै पहिलो अक्षयकोष हो ।
समझदारीअनुसार अध्यक्ष अग्रवालले व्यक्तिगत रूपमा अक्षयकोषमा सात लाख रुपैयाँ जम्मा गर्नेछन् । नाफिजले त्यस अक्षयकोषबाट वार्षिक रूपमा एकजना आर्थिक पत्रकारलाई ५० हजार रुपैयाँबराबरको फेलोसिप प्रदान गरिनेछ ।
खोजमूलक आर्थिक समाचार लेखनका लागि फेलोसिप प्रदान गरिने सम्झौतापत्रमा उल्लेख छ । फेलोसिप प्राप्त गर्ने पत्रकारलाई नाफिजले मेन्टर पनि उपलब्ध गराउनेछ ।
‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ प्रदान गर्न तीनजनाको छनोट समिति गठन गरिनेछ । सोही समितिले फेलोसिप प्रदानका लागि थप काम/कारबाही अघि बढाउनेछ । अब आवश्यक प्रक्रिया पूरा गरेर आगामी आर्थिक वर्ष ०८२/८३ देखि यसलाई कार्यान्वयनमा लैजाने नाफिजकी अध्यक्ष कार्कीले बताइन् ।
नेपाल उद्योग परिसंघका अध्यक्ष अग्रवालले यो कदमले आर्थिक पत्रकारलाई थप प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरे ।