
भिजिट भिसा प्रकरणमा छानबिनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले शुक्रबार प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन्। विरोधस्वरूप सबै सांसदहरू कालो कपडा र निलो स्कार्फ लगाएर संसद् भवन पुगेका थिए।
संसद्मा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर तय भएको दिन नै रास्वपाले विरोध प्रदर्शनलाई तीव्र बनाएको हो। रास्वपाको अवरोधपछि प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित गरिएको छ।
रास्वपाले जेठ ३० गतेदेखि भिजिट भिसा प्रकरणमा संसदीय समिति वा न्यायिक आयोग गठनको माग गर्दै लगातार वेल घेराउ गर्दै आएको छ।
रास्वपाको यो आन्दोलनमा यसअघि पनि संसद् बैठक बहिष्कार गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि साथ दिएको छ। शुक्रबारको बैठकमा रास्वपासँगै राप्रपाका सांसदहरू पनि बाहिरिए।
सरकारले भिजिट भिसा प्रकरणबारे ठोस छानबिनको प्रक्रिया अघि नबढाएको भन्दै विपक्षी दलहरूको आक्रोश चुलिँदै गएको छ। सांसदहरूको संयुक्त विरोधका कारण शुक्रबारको संसद् बैठकमा तोकिएको महत्वपूर्ण कार्यसूची प्रभावित भएको छ।