
सरकारले दक्ष र अर्धदक्ष श्रमिकलाई जापान, कोरिया तथा युरोपियन मुलुकहरूमा संस्थागत रूपमा पठाउने तयारी थालेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मंगलबार प्रतिनिधिसभाको बैठकमा उक्त जानकारी दिएका हुन्।
उनका अनुसार आगामी जुलाईदेखि युरोपतर्फ श्रमिक पठाउने प्रक्रिया सुरु हुँदैछ। मन्त्री भण्डारीले वैदेशिक रोजगार नीतिअनुसार कोरिया र जापानतर्फ अर्धदक्ष र दक्ष श्रमिक पठाउने निर्णय भइसकेको पनि स्पष्ट पारे।
यसै सन्दर्भमा उनले वैदेशिक रोजगारीको नाममा हुने ठगी नियन्त्रण गर्न सरकार कडाभन्दा कडा कारबाही गर्ने पक्षमा रहेको बताए। मन्त्रालयका लागि वैदेशिक रोजगार क्षेत्रमा हुने ठगी चिन्ताको विषय भएको उल्लेख गर्दै उनले उजुरी परेको खण्डमा अनुसन्धान संयन्त्रमार्फत कडा कारबाही हुने प्रतिबद्धता जनाए।
मन्त्री भण्डारीका अनुसार वैदेशिक रोजगारलाई व्यवस्थित, सुरक्षित र पारदर्शी बनाउने लक्ष्यसहित श्रमिक आपूर्ति प्रणालीलाई संस्थागत बनाउने प्रयास भइरहेको छ।
मन्त्री भण्डारीले देशको ११.६ प्रतिशत व्यक्तिहरू बेरोजगार रहेको समेत बताए। वैदेशिक रोजगारीमा युवाको आकर्षणलाई मुलुकभित्रैको रोजगारीमा संलग्न गराउनु मुख्य चुनौती रहेको मन्त्री भण्डारीको भनाइ छ। उनले बेरोजगार दर कम गर्न आगामी १० वर्षका लागि आन्तरिक रोजगार प्रवर्द्धन दशकको अभियान सञ्चालन गर्ने समेत बताए।