काठमाण्डौँ , भदौ २५ :

राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक राजनीतिक उपलब्धि हासिल गरेर पनि जनताका अपेक्षा अनुसार काम गर्न नसक्नु आदर्श राजनीतिमा आएको ह्रास भएको बताउनुभएको छ ।

बिपी ट्रस्टद्वारा राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले ऐतिहासिक र गर्व गर्न लायक राजनीति उपलब्धि हासिल गरेर पनि जनताले अपेक्षा गरेअनुसार काम गर्न नसक्नुमा आदर्श राजनीतिमा आएको ह्रास हो भन्ने आफूलाई लागिरहेको बताउनुभयो ।

उहाँले सत्ता जनताको सेवा गर्ने राजनीतिक साधन मात्र भएको तर कतै सत्तालाई साध्य मानेर आदर्श राजनीतिलाई टाढा राख्दा यस्तो भएको हो कि भन्ने आफूलाई चिन्ता लागिरहेको बताउनुभयो । 

सिद्धान्तमा सम्झौता गरेको भए बिपी सायद जीवनकालभर सत्तामा रहिरहन सक्ने बताउँदै उहाँले बिपीले सत्ता होइन देश र जनताको हितका निम्ति सिद्धान्तप्रतिको निष्ठालाई कहिल्यै डगमगिन नदिएको स्मरण गर्नुभयो ।

राष्ट्रपति पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउँदै मुलुकलाई आर्थिकरूपमा समृद्ध बनाउन बिपीले अघि सार्नुभएको कल्याणकारी राज्यको अवधारणा सिद्धान्त, मूल्य मान्यता र उच्च नैतिक आदर्श राजनीति आज पनि उत्तिकै सान्दर्भिक रहेको स्पष्ट पार्नुभयो । 

स्वतन्त्रतालाई मानिसको अविच्छिन्न अधिकारका रुपमा स्थापित गरेर सामाजिक न्यायका आधारमा लोकतान्त्रिक शासन प्रणालीको माध्यमबाट मुलुकको आर्थिक र सामाजिक विकास गर्नुपर्छ भन्ने बिपीको दृढ मान्यता रहेको स्मरण गर्दै उहाँले राष्ट्रिय एकता र मेलमिलापबाटै मुलुकसामु देखापर्ने समस्याको समाधान खोज्नुपर्ने धारणा राख्नुभयो ।

विभिन्न कालखण्डको आवश्यकता अनुसार समयसापेक्ष रूपमा ग्रहण गर्दै आज सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धि हासिल गर्न सफल भएको उल्लेख गर्दै उहाँले  बिपीको बिचार, सिद्धान्त र मान्यतालाई बिर्सन नसकिने बताउनुभयो ।

कार्यक्रममा ‘जननायक बिपी कोइराला स्मृति ट्रस्ट’ (बीपी ट्रस्ट) द्वारा साहित्य साधनामा आफ्नो जीवन अर्पण गर्नुभएका साहित्यकार कवि द्वारिका श्रेष्ठलाई एक लाख एक हजार र बिपीको आदर्श, मूल्य, मान्यताप्रति समर्पित प्रजातन्त्रका सेनानी भोजराज भण्डारीलाई एकाउन्न हजार राशिको पुरस्कार प्रदान गरिएको थियो ।