बेइजिङ, असार १६ :

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले साङ्हाई सहयोग संगठनको पाँचौं ऊर्जा मन्त्रीस्तरीय बैठकमा सहभागिता जनाइसकेपछि बेइजिङस्थित नेपाली राजदूतावासको भ्रमण गरेका छन् ।

भ्रमणका क्रममा मन्त्री खड्काले दूतावासका पदाधिकारीहरूसँग भेटघाट गरी दूतावासको वर्तमान अवस्था, हालका गतिविधिहरूबारे जानकारी लिए ।

दूतावासका तर्फबाट प्रस्तुत गरिएका समस्यामा कार्यसुविधा, जनशक्ति र स्रोतको अभावलगायत विषयमा छलफल गरिएको ऊर्जामन्त्री खड्काको सचिवालयले जनाएको छ । मन्त्री खड्काले तिनीहरूको समाधानका लागि परराष्ट्र मन्त्रालयसँग आवश्यक पहल गर्ने र समन्वय गरिने आश्वासन पनि दिए ।

त्यस अवसरमा मन्त्री खड्काले बेइजिङमा आयोजित नेपाली पर्यटन व्यवसायीहरूको ट्रेड फेस्टमा पनि सहभागिता जनाए । उनले स्टल अवलोकन गर्दै व्यवसायीहरूसँग अन्तर्क्रिया गरेका थिए ।