
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबारबाट पार्टी मुख्यालय सानेपामा सुरु भएको छ ।
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार बैठकमा विभिन्न १३ वटा एजेन्डामा छलफल चल्नेछ ।
बैठकमा १०० दिने अभियानका प्रतिवेदन, केन्द्रीय नीति- अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशिका संशोधन, केन्द्रीय नीति- अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन प्रस्तुत हुनेछ ।
त्यस्तै अनुशासन समितिको प्रतिवेदन, नेपाली जनसम्पर्क समितिको व्यवस्थापन र विस्तार सम्बन्धमा समेत छलफल हुनेछ । यस्तै भ्रातृसंस्थाबारे निर्देशक समितिको धारणा आएपछि बैठकले आवश्यक निर्णय गर्ने प्रवक्ता महतको भनाइ छ ।
क्रियाशील सदस्य नवीकरणका विषयमा महामन्त्रीले बैठकमा जानकारी गराएका थिए । त्यस्तै संसद् र सरकारमा पार्टीको भूमिका प्रभावकारिताबारे मन्त्रीहरूको प्रतिवेदन आएपछि सदस्यहरूले धारणा राख्नेछन् ।