काठमाडौं, असार १७ :

मनसुन सक्रिय भएसँगै गत जेठ १५ गतेदेखि असार १६ गतेसम्म मुलुकभरि विभिन्न ६७४ विपद् सम्बन्धी घटना घटेका छन्। ती घटनामा ३१ जनाको मृत्यु हुनुका साथै ११२ जना घाइते भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो अवधिमा सबैभन्दा बढी पहिरो, बाढी, चट्याङ र हुरीका घटना भएका छन् ।

प्राधिकरणका तथ्यांक अनुसार पहिरोका मात्रै ८७ घटना भएका छन्, जसमा ११ घर पूर्णरूपमा र २५ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। त्यस्तै पहिरोका कारण एकवटा पुल, सातवटा गोठ र १४ चौपाया नष्ट भएका छन्। पहिरोबाट मात्रै करिब २ करोड २१ लाख रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो अवधिमा सबैभन्दा बढी पहिरो, बाढी, चट्याङ र हुरीका घटना भएका छन् ।

बाढीका ६४ घटनामा चार जनाको मृत्यु भएको छ भने चारै जना घाइते भएका छन्। बाढीबाट १२३ परिवार प्रत्यक्ष प्रभावित भएका छन् भने चार घरमा क्षति पुगेको छ।

यस अवधिमा चट्याङ लागेर ८ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्। चट्याङका घटना संख्या ८२ पुगेका छन्।

यस्तै, ४५ वटा हुरीका घटनामा एक जनाको मृत्यु भएको र तीन जना घाइते भएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार मनसुनजन्य यस्ता विविध विपद्‍बाट हालसम्म करिब २६ करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको छ।