
स्तरोन्नती भइरहेको अरनिको राजमार्ग अन्तर्गत साँगा–धुलिखेल सडकखण्डको काम वर्षाका कारण रोकिएको छ । मनसुन बाहिरिएपछि पुनः काम सुचारु हुने आयोजनाले जनाएको छ ।
उक्त सडकखण्डको पुलबजार क्षेत्रमा भने स्थानीयको अवरोधका कारण चार महिनादेखि काम ठप्प अवस्थामा छ । उक्त क्षेत्रको करिब २ सय मिटर क्षेत्रमा विस्तारकार्य रोकिएको सडक विभागको सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको छ । कार्यालयका अनुसार धुलिखेलमा एक किलोमिटर मुख्य सडक पक्की गरिएपनि मनसुनका कारण थप पक्की गर्न सकिएको छैन ।
सबै सामग्री तयारी अवस्थामा रहेपनि वर्षाका कारण धुलिखेलबाट बनेपातर्फको सडक तथा बनेपास्थित जनागाल क्षेत्रमा एक किमी सडक पक्की नगरिएको आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालले जानकारी दिए ।
खनालका अनुसार सडक बिस्तारसँगै बनेपा क्षेत्रमा करिब ५० वटा विजुलीका पोल हटाउनुपर्ने तथा २८ किलोमा एक घर हटाउने कामसमेत रोकिएको हो । बनेपा सहरको पूर्वीतर्फ चण्डेश्वरी खोलादेखि बनेपा चारदोबाटोसम्म करिब एक किमी सडकको डल निर्माणकार्य भइरहेपनि बर्षाका कारण काम नै ठप्प अवस्थामा रहेको छ ।