काठमाडौं, असार १९ :

नेपाली चलचित्र ‘रियाल रिङ्गेट’को दोस्रो गीत ‘तिम्रा बाले ज्वाइँ खोजे’ सार्वजनिक गरिएको छ ।

आगामी साउन १६ गते प्रदर्शनमा आउने तयारीमा रहेको यस चलचित्रले वैदेशिक रोजगारीको मुद्दालाई मुख्य विषयवस्तु बनाएको छ, जुन गीतको बोल र भावमा पनि झल्कन्छ ।

सार्वजनिक भएको नयाँ गीत ‘तिम्रा बाले ज्वाइँ खोजे’ ले प्रेम र वैदेशिक रोजगारीको सम्बन्धलाई रोचक ढङ्गले प्रस्तुत गरेको छ । रामचन्द्र काफ्ले र जुनु रिजाल काफ्लेको स्वर रहेको यस गीतमा प्रदीप भारद्वाजको शब्द र रामचन्द्र काफ्लेको सङ्गीत छ ।

गीतमा अभिनेता प्रमोद चौलागाईं र अभिनेत्री नीता अधिकारीको अभिनय र नृत्य देख्न सकिन्छ ।

गीतको बोलले नै केटी पक्षबाट ज्वाइँका रूपमा विदेशमा कमाउने केटाको अपेक्षा रहेको स्पष्ट पार्छ । नीताले गीतमा आफू विदेशमा कमाउन गएको केटा खोजिरहेको भाव व्यक्त गरेकी छन् ।

यसको प्रत्युत्तरमा प्रमोद चौलागाईंले आफू पनि विदेश जाने तयारी गरिरहेको कुरा गरेका छन् । यो गीतले प्रमोद र नीता दुवैका पात्रहरूको पृष्ठभूमि र उनीहरूको सम्बन्धलाई प्रारम्भिक रूपमा दर्शकमाझ परिचित गराउन मद्दत पुर्‍याएको छ ।

गीतले नेपाली समाजमा वैदेशिक रोजगारीले सिर्जना गरेको आर्थिक र सामाजिक प्रभावलाई प्रतिबिम्बित गरेको छ । चलचित्रका निर्देशक विभोर पोखरेलले ‘रियाल रिङ्गेट’लाई हरेक नेपालीको कथा भनेर दाबी गरेका छन् ।

चलचित्रले वैदेशिक रोजगारीमा गएका नेपाली युवायुवतीहरूले भोग्नुपर्ने यथार्थ र उनीहरूको जीवनशैलीलाई नजिकबाट चित्रण गर्ने उनले बताए । चलचित्रको नाम ‘रियाल रिङ्गेट’ आफैँमा प्रतीकात्मक छ ।

‘रियाल’ कतार र साउदी अरेबियाको मुद्रा हो भने ‘रिङ्गेट’ मलेसियाको मुद्रा हो । यी दुवै नामको संयोजनले नेपाली श्रमिकहरूका लागि मुख्य गन्तव्य मुलुकलाई सङ्केत गर्छ, जहाँबाट लाखौँ नेपालीले आफ्नो परिवारको गुजारा चलाउन र राम्रो भविष्यको खोजीमा काम गरिरहेका छन् । यो नामले नै चलचित्रको मूल विषयवस्तु र वैदेशिक रोजगारीका पाटाहरूमाथि प्रकाश पार्न खोजेको देखिन्छ ।

चलचित्रमा प्रमोद चौलागाईं र नीता ढुंगाना अधिकारीका साथै छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरीलगायत कलाकारको अभिनय छ ।

चलचित्रको लेखन प्रदीप भारद्वाजले गरेका हुन् । रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, हरि घलेको छायाङ्कन, विपिन मल्लको सम्पादन, किरण तुलाधरको ब्याकग्राउन्ड स्कोर र राजीव समरको कोरियोग्राफी रहेको छ ।

चलचित्रका गीतहरूमा रामचन्द्र काफ्ले, किरण तुलाधर र चन्दनध्वज केसीको सङ्गीत छ । सुगम पोखरेल, केतन क्षेत्री, रामचन्द्र काफ्ले र जुनु रिजाल काफ्लेको स्वर सुन्न सकिनेछ ।

गीतका शब्दहरू अमर न्यौपाने, रवि मल्ल, कोसिस क्षेत्री, प्रदीप भारद्वाज र चन्दनध्वज केसीले लेखेका छन् । ‘रियाल रिङ्गेट’ को छायाङ्कन भारतको राजस्थान, नेपालका चितवन, काठमाडौं र लेटाङमा गरिएको छ । यो चलचित्रलाई काफिया फिल्म्सले वितरण गर्नेछ ।