ललितपुर, असार २० :

सातदोबाटो-सुनाकोठी-लेले जक्सन-टीकाभैरव सडक सडकखण्डमा ठुला सवारीसाधन चल्दा सर्वसाधारणले जामको सास्ती खेप्नुपरेको छ । विद्यालयको समयमा विद्यार्थी र पैदलयात्रुलाई समेत हिँड्नै मुस्किल हुने गरेको छ ।

१४.३ किलोमिटरको यो सडकखण्डमा बिहान ९ देखि ११ र साँझ ४ देखि ७ बजेको समयमा ठुला मालवाहक गाडी नगुडाउने मौखिक रुपमा सहमति भए पनि कार्यान्वयन हुन सकेको छैन । जसकारण सर्वसाधारणलाई आवतजावतमा समस्या परेको छ ।

तर विकास निर्माणको कार्यका लागि ट्रक, मिनी ट्रक, टिपर, जिपजस्ता मालवाहक सवारीसाधन वडाको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले दिएको लिखित अनुमति लिएर चलाउनुपर्ने भनिए पनि कार्यालय समयमा यस्ता सवारीसाधनहरु निर्वाध चलिरहेको देख्न सकिन्छ ।

‘सातदोबाटो ट्राफिक प्रहरी कार्यालयमा यसबारे गुनासो त धेरै आएको छ,’ त्यही कार्यरत एक ट्राफिक प्रहरी नाम उल्लेख नगर्ने सर्तमा स्वीकार्छन् । उनका अनुसार स्थानीयसँग मौखिक सहमति भए पनि साना सडकमा ठुला सवारीसाधन चल्दा जाम हुने गरेको छ ।

सानो सडकमा ठुला मालवाहक सवारीसाधन गुड्दा साना गाडी तथा पैदलयात्रुले जामको सामाना गर्नुपरेको छ । कार्यालय जाने कर्मचारी, विद्यार्थीहरुले जाममा बस्नुपर्दा समयमा पुग्न नसक्ने अवस्था छ ।

यसरी सानो सडकमा ठुला सवारीसाधन गुड्दा आवागमनमा भएको सास्तीलाई नजरअन्दाज गर्न मिल्दैन । जामका साथै दुर्घटनाको जोखिम पनि उत्तिकै हुने भएकाले बिहान ९ देखि ११ बजे र साँझ ४ देखि ७ बजेको समयमा ठुला सवारीसाधन चालकले यो सडकमा गाडी गुडाए कारबाही गर्नुपर्ने स्थानीय सर्वसाधारणले माग गरेका छन् । स्थानीयले लामो समयदेखि  यो सडकमा ठुला मालवाहक सवारीसाधन नचलाउन गरेको अनुरोध कहिले कार्यान्वयन होला त्यो भने हेर्न बाँकी छ ।